पशुपतिमा बाला चतुर्दशी मेला लाग्ने, मास्क लगाएर प्रवेश गर्न आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १५, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । यसपालि पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गएको वर्ष कोरोना जोखिम उच्च रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो ।

यसपालि भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेलाको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिए । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् । यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ । भोलि महादीपदान र पर्सि बिहान शतबीज छर्ने दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कोरोना जोखिम न्यून भए पनि पूर्णरुपमा नियन्त्रण नभएकाले भक्तजनलाई मास्क लगाएर पशुपति क्षेत्रमा प्रवेश गर्न कोषले आह्वान गरेको छ । यस्तै, कोषले शतबीज छर्न जानेहरुका लागि ठाउँ ओगट्नका लागि अग्रिम नाम दर्ता गराउनु पर्ने व्यवस्था गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस