राप्रपा महाधिवेशनः ढिला गरी मतदान, नतिजा राति आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १८, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । विहान ९ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मध्यान्न १२ बजेबाट शुरु भएको मतदान अहिले जारी छ ।

विद्युतिय भोटिङ मेसिनमा उम्मेद्वारको नाम इन्ट्री गर्न समय लागेकोले मतदान ढिलो गरी सुरु भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षबाहेक अरु सबै पदको निर्वाचनमा विद्युतीय भोटिङ मेशिनको प्रयोग गरिएको छ । निर्वाचन समितिका अनुसार मतदान बेलुका १० बजेसम्म चल्नेछ । त्यसपछि दुई घण्टा भित्र मतपरिणाम घोषणा हुनेगरी मतगणनाको कामलाई अघि बढाउने निर्वाचन समितिको तयारी छ ।

अध्यक्षको निर्वाचनमा भने मतपत्र नै प्रयोग गरिएको छ । निर्वाचनमा अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्य समितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको नयाँ अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिष्पर्धामा छन् । अध्यक्ष थापाले भने ४ बजेमात्रै मतदान गर्ने बताएका छन् ।

थापाले महाधिवेशन स्थलको अवलोकन समेत गरेका छन् । यसअघि अध्यक्षका उम्मेद्वार लिङ्देन, नेता पशुपति शमसेर राणासहित केही नेताहरुले मतदान गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस