संकटासँग मनाङको बराबरी

मंसिर १८, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन लिग बिजेता मनाङ मर्स्याङ्दी संकटा क्लबसँग अंक बराबरी गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले दुईपटक पछि परेको अवस्थाबाट संकटासँग २–२ गोलको बराबरी गरेको हो । अंक गुमाएको मनाङ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

यससँगै जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङले आफ्नो अपराजित यात्रा तेस्रो खेलमा पनि निरन्तरता दिएको छ भने मनाङको विजयी यात्रामा पूर्णविराम पनि लागेको छ । २–२ को बराबरी खेल्दै अंक बाँड्ने क्रममा संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक-एक गोल गर्दा मनाङका दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङविरुद्ध ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । लक्ष्मण रुचालको फ्री किकमा निरजले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए तर खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए ।

पुजन उपरकोटीको फ्री किकमा फ्रान्कलिन क्वेटाको पासमा भारतीय मिडफिल्डर दयानन्दले हेडरमार्फत गोल गरेका हुन् । त्यसपछिको पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।

दोस्रो हाफमा दुबै टोलीले आक्रामक खेल देखाए । खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उत्तमले फोडे फोफानाको पासमा जाली चुमाउन सफल भएका थिए । त्यसपछि दबाबमा परेको आठपटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।

यस बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत् रहेको छ । संकटा भने ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिँदा संकटाकै जय गुरुङ इमर्जिङ प्लेयर घोषित भए ।

संम्बन्धित समचार

Leave a Reply