कांग्रेस महाधिवेशनको तयारी पूरा, सभापतिको साझा उम्मेदवारका लागि इतर पक्ष आज पनि छलफलमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर २२, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २२, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चुनावी प्रक्रियाका लागि पहिलो चरणको तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पर्सि काठमाण्डौमा उद्घाटन हुनुअघि भोलिसम्ममा देशैभरका वडा, गाउँ/नगर, जिल्ला र प्रदेश अधिवेशनको विवरण आइसक्ने बताए ।

उनका अनुसार एक सय ६० वटा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । अहिले मनोनयन पत्र, मतपत्र कस्तो बनाउने भन्ने विषयमा समितिमा छलफल भइरहेको उनले बताए ।

यसैगरी, उनले राष्ट्रिय सभा गृह, भृकुटीमण्डप र उद्घाटनस्थलमा गरेर तीन ठाउँमा मतदानस्थल रहने बताए । उद्घाटनस्थलमा भने कार्यक्रम समापन पछि मतदानस्थल निर्माण हुनेछ । मतदानका लागि मतपत्र र विद्युतीय मेसिन दुवै प्रक्रियाका लागि केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको उनको भनाइ छ ।

पर्सि उद्घाटन भएपछि शनिबार मनोनयन दर्ता हुनेछ । २६ गते मतपत्र तयार हुने र २७ गते बिहानदेखि मतदान सुरु हुनेछ । पार्टीको विधान अनुरुप सभापतिका लागि पहिलो चरणमा ५० प्रतिशत प्लस १ भोट आउनुपर्छ, त्यो नभए दोस्रो चरणमा भएको मतदान र यसको छिनोफानो भएपछि मात्रै अन्य पदाधिकारी र सदस्यको मतगणना सुरु हुनेछ । यसैबीच, महाधिवेशनमा संस्थापनइतर पक्षले अझै सभापतिमा साझा उम्मेदवार बनाउन सकेको छैन ।

सभापतिको साझा उम्मेद्वार खोज्न हिजो बसेको संस्थापनइतर पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा. शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताए । साझा उम्मेदवारमा सहमति गर्न आज पनि इतर पक्षको बैठक बस्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस