नाडा चुनाव: अध्यक्षका उम्मेद्धार करण चौधरीसंग एजेण्डा र सन्देश के छन् ?

       – उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु । त्यस्तो नाम हो, करण चौधरी । लिगेसीलाई अझमाथि लैजान र आफ्नो पहिचान उँचो बनाउन करण पुरै शक्ति खर्चिरहेका छन् । नाडा उपाध्यक्ष चौधरी आसन्न साधारणसभा मार्फत् हुने नेतृत्व चयनमा अध्यक्ष पदको बलिया प्रत्यासी हुन् । करणलाई युवा भन्ने कि नभन्ने ? भन्ने प्रश्नमा उनको सीधा जवाफ छ, ‘करण चौधरी अटो व्यवसायामा प्रवेश गरेकै १६ वर्ष भइसक्यो ।’ ठूला घरानामा जन्मिएर अवसर पाएको आरोप लगाउनेलाई चौधरी सरल जवाफ दिन्छन्, ‘म मेकानिक्सबाट अटो क्षेत्रमा प्रवेश गरेको हुँ । कुन नट बोल्ट कसरी खोल्ने ? कसरी फिट गर्ने ? इन्जिन एसेम्बल गर्दा पिस्टन कसरी फिट हुन्छ?भन्ने विषयमा जो कोहीसँग जुहारी खेल्न सक्छु ।’ ‘नेतृत्व उमेरले होइन, इच्छाशक्ति र क्षमता तय गर्छ’ भन्ने मान्यता राख्ने उनी आफ्नो उमेर रहस्यमै रहोस् भन्न चाहन्छन् । अटो क्षेत्रमा बटुलेको अनुभव र विश्व विख्यात विश्वविद्यायहरुबाट प्राप्त गरेको उच्चशिक्षाले उनलाई दक्षता,परिपक्वता र व्यवस्थापकीय क्षमतामा निखार ल्याउन सघाएको छ । आफ्नो कुशल नेतृत्व मार्फत् सुजुकीलाई मार्केट सेयरको हिसाबमा नेपालको नम्बर वान ब्रान्ड बनाउन सक्षम भएका छन्, करण । मेकानिकर व्यावसायिक आइडियाबारे उनी जे जवाफ दिन्छन्, कन्फिडेन्स साथ दिन्छन् । नाडाको अध्यक्ष प्रत्यासी चौधरी यति अग्लो खम्बा बनेर उभिएका छन् कि उनको क्षमता जित्ने प्रयत्न गर्नै जोकोहीलाई गाह्रो हुन्छ । मंसिर २२ र २३ गते नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा मार्फत् नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वका लागि व्यवसायीहरु २ समूहमा बाँडिएका छन् ।
जसमध्ये एउटा प्यानलको नेतृत्व करण चौधरीले गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । सीजी होल्डिङ्सको सीजी मोटोकर्प सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक हो । नेपाल ल्युब आयल (गल्फब्रान्ड) मा पनि सीजी होल्डिङ्सको सेयर छ । नाडाको चुनाव लाग्दै गर्दा उनलाई एउटा आरोप लाग्छ, करण चौधरीको उमेर पुगेकै छैन । तर, उनी आफूलाई युवा व्यवसायी भन्न लाज मान्छन् किनकी उनी बिजेनसमा प्रवेश गरेको १६ वर्ष भइसक्यो । विदेशमा ३० वर्षका व्यक्ति प्रधानमन्त्री बनिरहँदा त्यति नै हाराहारी उमेरको मान्छे नाडाको अध्यक्ष बन्ने होडमा हुनु नौलो पक्कै होइन । नाडाको अघिल्लो कार्यकालमा उनले नेतृत्वलाई ठूलो साथदिए । विद्युतीय सवारीमा कर घटाउन उनी सम्मिलित कार्यसमितिले गरेको मिहिनेत, खोप ल्याउन गरेको पहल,राहत प्याकेजका लागि लबिङ गर्नुमा उनको ठूलो हात छ । तर, चुनाव सम्मुखैमा करण माथि चौधरी परिवारको व्यक्ति हुनु नै सक्षमता हो ? भन्ने प्रश्न उठेको छ । तर, उनी ‘म किन सक्षम छैन ?’ भन्ने प्रतिप्रश्न गर्छन् । करण भन्छन् कि आफ्नो गुनगान आफू गाउनु हुँदैन ।
उनले १६ वर्षे व्यावसायीक अनुभवमा हजारौं व्यक्तिसँग काम गरेका छन् । उनी आफू दोस्रो व्यक्तिबाट जस्तो व्यवहारको अपेक्षा गरिन्छ, आफूले पनि ऊ सँग त्यस्तै व्यवहार गर्नुपर्छ भन्ने पाठ बुबाबाट सिकेको बताउँछन् । “जीवनमा कहिलेकाहीँ ठोस निर्णय लिनुपर्ने हुनसक्छ । तर, नम्रपन बराबर आवश्यक छ,”उनी भन्छन्, “सबैलाई खुसी राख्न सकिन्न तर, सबैलाई सही हुने निर्णय नेतृत्वबाट हुनुपर्छ ।”
करणले परिवारबाट सिकेको पनि यही हो जसले उनलाई सक्षमको परिभाषा भन्दामाथि पु¥याएको छ । १६ वर्ष अगाडि बिजेनसमा छिर्दा उनीसँग कम्पनीको निर्देशक वा कार्यकारी निर्देशक बन्ने अवसर थियो । तर, उनले मेकानिकबाट काम सुरु गरे ।
काम गरेर मात्र नहुँदो रहेछ भन्ने निष्कर्श सहित करण थप शैक्षिक योग्यता हासिल गर्नतर्फ लागे । मेकानिकबाट सिकेको व्यवहारिक पक्ष र सीपलाई अध्ययनमा सिकेका सैद्धान्तिक विषयसँग जोडे । “मैले परेर सिकें, पछि पढेर ज्ञान विस्तार गरें भन्नु जति खुसी केहीमा पनि हुँदैन रहेछ,” चौधरी भन्छन् । चौधरीले स्नातक अध्ययन यूनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डबाट पुरा गरेका छन् भने ५ भिन्न विषयमा स्नातकोत्तर अध्ययन गरे । करणले हार्वार्ड युनिभर्सिटी,युनिभर्सिर्टी अफ पेन्सल्भेनिया, युनिभर्सिटी अफ इलिनोय र वाल्टन स्कुलबाट मास्र्टर्स अध्ययन गरेका छन् । चुनावको मुखमा उनी भन्छन्, ‘नाडाको नेतृत्व सक्षम व्यक्तिको हातमा पुग्नुपर्ने छ । सक्षम टिमको आवश्यकता छ । म मलाई वा मेरो प्यानलका व्यक्तिलाई भोट गर्नुस् भन्दिनँ । जो सक्षम छ उसलाई जिताउनुस् ।’

चुनावको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी चौधरी के भन्छन् ? उनकै भाषामाः

१.सदस्य संख्या बढ्नुको कारण र प्यानल

सदस्य संख्या बढाउनु नाडाको हित हो । सदस्य संख्या ९ सयबाट ३२ सय बन्दा मोफसलका प्रतिनिधि आउनुभएको छ । सानादेखि साना व्यवसायीको आवाज प्रतिनिधित्व भएको छ । कार्यसमिति सदस्यको संख्या १३ बाट १८ पुग्नु सबै व्यवसायीको आवाज सुनिनु होइन र ?
व्यवसायीहरु २ प्यानलमा लाग्दा बाँडिए भन्ने आरोप लाग्नु नौलो होइन ।

नाडा सानो संस्था हो । अर्कातर्फ ३२ सय सदस्य त्यति सानो संख्या पनि होइन । ३२ सयका कुरा सरकार कहाँ पु¥याउन सबैको कोही न कोही प्रतिनिधि आफ्नो टिममा हुनुपर्छ । मैले सोही किसिमको टिम सेट गरेको छु । सवारी व्यवसायीका पक्कै पनि राइट प्रतिनिधि टिममा हुनुपर्छ र उहाँहरुको सवालको राइट जवाफ दिनुपर्छ ।

२. मेरो टिम

मेरो टिममा टायर उद्योग सञ्चालक, दुईपांग्रे चारपांग्रे सवारीको एसेम्बल प्लान्टखोल्ने उद्योगी छन् । म आफैं लुब्रिकेन्ट उत्पादक पनि हुँ ।
मेरो टिममा ठूला व्यवसायी छन् तर धेरै भोट साना व्यवसायीको छ । यस्तोमा ठूलालाई सानाले भोट गर्छन् कि गर्दैनन् भन्ने संसय छ । तर, मेरो प्रष्ट जवाफ छ, “एउटै टिममा, एउटै कम्पनीको काम गर्ने प्रतिवद्धता लिएर अघि बढेका छौं भने आफ्नो व्यावसायिक हित का लागि पनि आफ्नो सहयात्रीलाई भोट हाल्नुपर्ने हुन्छ ।”

मेरो टिममा टाटा, एक्साइड ब्याट्री लगायतको आधिकारिक वितरक सिप्रदी ट्रेडिङदेखि एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सम्मको साथ छ । टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ छ । मेरो टिम उद्योगीमुखी टिम हो । नेपालमा एसेम्बल प्लान्टदेखि, लुब्रिकेन्ट, ब्याट्रीको प्लान्ट स्थापना गरेका र गर्ने तयारीमा रहेकाहरुको साथ छ ।

कम्पनीको नाम लिँदा सुजुकी, टाटा, महिन्द्रा, फियाट, जेसीबी, स्कोडा, जिप, रेनो, एमजी, यामाहा, हिरो, होण्डा, बजाज, एक्साइडलगायतको साथ म सँग छ । टिममा हालका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानियाँ लगायत, हिरोका अभिक ज्योति, देवराज भण्डारी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश पुरी, निलमणी पाठक, बरदान बस्नेत लगायत हुनुहुन्छ ।

३. चुनावी एजेन्डा

पूर्वाधार हाम्रो पहिलो एजेन्डा हो । बाटो ठूलो र धेरै भएभने धेरै गाडी चल्न सक्छन् । धेरै पार्टस बिक्रि हुन्छ, धेरै टायर, ब्याट्री र लुब्रिकेन्ट बिक्री हुन्छ । पूर्वाधार विस्तार कसरी गर्न सकिन्छ ? सरकारसँग सहकार्य गर्नेछौं । तर, त्यो भन्दा पहिला सरकारले सवारी व्यवसाय प्रति हेर्ने नजर परिवर्तन गर्न जरुरी छ । नाडासँग आवद्धलाई अनुत्पादक मान्छन्, जुन सवारी व्यवसाय मैत्री छैन । सरकारी निकाय र सबैले यो कुरा स्वीकार्नुपर्छ कि कुल गार्हस्थ उत्पादन र राजस्वमा सबैभन्दा बढी योगदान गर्ने क्षेत्र नाडा हो ।

सवारी व्यापार निरुत्साहन गर्दा सरकारको ३५ प्रतिशत आयस्रोत घट्छ । डाउन पेमेन्ट, भन्सार विभागको सन्दर्भ मूल्यसूचीसम्म सबैले सवारी व्यवसायमा व्यवधान खडा गर्दै आएको छ । तसर्थ, सोच परिवर्तन गर्नु आवश्यक छ । र, मेरो कार्यकाल सवारी व्यवसायमैत्री सरोकारवाला निकाय बनाउनेमा केन्द्रित हुनेछ ।

४. भावी अध्यक्षका लागि आजैदेखि जाल बुनेको आरोप र सर्वसम्मति

८ वर्षपछिको अध्यक्षको तयारी आजैबाट गरिँदै छ भन्ने आरोप हामीलाई लागेको छ । तर, आजसम्म मेरो टिमसँग मैले निर्वाचन जिते कसले कुन पद लिने भन्ने बारे छ छलफल गरेको छैन, ८ वर्षपछिको कुरो त टाढाको कुरा । सर्वसम्मति नभएको खण्डमा निर्वाचन जानुको विकल्प छैन । त्यो बेला सवारी व्यवसायीले सक्षम नेतृत्व छनोट गर्नुहुनेछ भन्ने मेरो आशा छ ।

सर्वसम्मतिको सम्भावना फिर्ता लिने अन्तिम समयसम्म रहनेछ । सर्वसम्मतिको अर्थ एउटाले छाड्ने होइन, दुवैजना बराबर नेतृत्वमा रहने भन्ने हो । काम गर्ने टिम आवश्यक छ । एउटा अध्यक्ष ठूलो कुरा होइन । सबै पक्षका, सबै वर्गका, सबै क्षेत्रका, सबै भुगोलका प्रतिनिधि नाडा कार्यसमितिमा हुनुपर्छ ।

५.म्यानुफ्याक्चर हबका रुपमा नेपालको विकास र एसेम्बल उद्योग

भारत झैं नेपालमा म्यानुफ्याक्चर हबका रुपमा नेपाललाई विकास गर्नेबारे परिकल्पना गर्न मिल्दैन । सरकारले जे जति सहयोग गरेपनि निर्यात हब बन्न निर्यात रुट तथा यातायातका विकल्प हुनुपर्छ । बाटोको विकल्प नहुनुले ढुवानी खर्च निकै बढी हुन जान्छ । एसेम्बलिङ प्लान्ट निर्माण नेपालका लागि अति आवश्यक हो तर निर्यातका लागि होइन । यहाँ हुने उत्पादन नेपालमा खपत गर्न सकिन्छ ।

तर, निर्यात गर्दा निकै महंगो पर्न आउँछ ।नेपालमा गुणस्तरीय उत्पादन गर्न सकिन्छ भने यहाँ खपतको समस्या छैन किनकी ठूलो बजार छ । म ल्युबआयल उत्पादन र ब्लेन्ड पनि गर्छु । हामीले गुणस्तरीय उत्पादन दिँदा ग्राहकवर्गमा हामीप्रति विश्वास छ ।यसरी नै नेपाल उत्पादन हुने गाडी, ब्याट्री टायर यहीँ खपत गराउन सकिनेमा म विश्वस्त छु । यही एसेम्बल गरेका सुजुकीको गाडी नेपाली जनताले चढ्न पाउने विषयमा म विश्वस्त छु । यस विषयमा अध्ययन पनि भइसकेको छ । सरकारले केही नीतिगत पूर्णता दिन आवश्यक छ ।

तर, म कहिले र कसरी भन्ने खुलाउन चाहन्नँ । मलाई चुनावको मुखैमा यस्ता विषय खुलस्त पार्दा चुनावी एजेन्डा र प्रचारको रुपमा पनि लिने गरिन्छ । म जे सम्भव छ, त्यो मात्र सपना देख्छु । यहाँ गाडी बनाएर निर्यात गर्ने सोचेको छैन । उत्तर र दक्षिणमा उत्पादन लागत जति कम छ, नेपालमा त्यतिमा सम्भव छैन ।

६. केही गर्छु भन्ने नौजवान युवा व्यवसायीलाई सन्देश

बोल्ने भन्दा सुन्ने बढी गर्नुपर्छ । काम गर्ने, मुख सानो बनाउने र कान ठूलो बनाउनुपर्छ । मुख मुसाको जत्रो र कान हात्तीको जत्रो बनाउनुपर्छ ।
सिक्नका लागि आफ्नो खर्च गर्नु हुँदैन । अर्काको काम गरेर सिक्नुपर्छ । र, आफूले लगानी गरेपछि नाफा कमाउन थाल्नुपर्छ । अरुको कम्पनीमा काम गर्नुस्, आफ्नो सम्भावित गल्ती पहिल्याउनुस् । गल्ती अरुको पैसामा गर्नुस्, आफ्नो पैसामा नगर्नुस् ।

(Visited 12 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?