दुर्गाप्रसादलाई आठ लाख क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतको आदेश

मंसिर २३, इलाम । ४० वर्ष भारतीय जेलमा बिताएका इलामको माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति रकम पाउने भएका छन् । कलकत्ता उच्च अदालतले ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलाम लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपुर्ति दिन बुधबार आदेश दिएको हो ।

न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई आठ लाख (पाँच लाख भारतीय रुपैयाँ) तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । उच्च अदालतले उक्त रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न पनि भनेको उनको मुद्दा हेर्दै गरेका अधिवक्ता हिरक सिन्हाले जानकारी दिए ।

हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो । बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको घरमा फर्किएका थिए ।

तिम्सिनालाई जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताए । ‘लामो लडाइँपछि आज दुर्गाप्रसादले थोरै भए पनि क्षतिपूर्ति पाएका छन् । यो सकारात्मक कुरा हो’, विश्वासले भने ।

चार दशक लामो जेल जीवन बिताएका तिम्सिनाको घरमा आर्थिक अवस्था कमजोर छ । परिवार र समाजसँग घुलमिल हुन उनलाई समस्या भएपछि केही महिनाअघि माई नगरपालिका र मानवअधिकार मञ्च इलामको सहयोगमा उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको उनका भतिजा गोपाल तिम्सिनाले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply