कांग्रेस महाधिवेशन: दुवै पक्षलाई उम्मेदवार टुंग्याउँन सकस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर २५, शनिबार (२ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजबाट निर्वाचन प्रक्रिया शुरु हुँदै छ । उमेदवार मनोनयनको दर्ता सयय बिहान १० बजेलाई तोकिए पनि संस्थापन र इतर दुवै पक्षले उम्मेदवार टुंग्याएको छैनन् ।

उम्मेदवार टुंग्याउँन दुवै पक्षले पटक पटक छलफलमा बसेपनि सहमति जुट्न सकेको छैन । संस्थापन पक्षमा सभापतिमा विवाद नभएपनि महामन्त्री र सहमहामन्त्रीमा आकांक्षी धेरै भएकाले उनीहरुको व्यवस्थापन कठिन बनेको छ । दुईमध्ये एक महामन्त्री र एक सहमहामन्त्री कृष्ण सिटौला पक्षलाई दिने सहमति भएसँगै सभापति शेरबहादुर देउवालाई आफ्नो पक्षका नेता व्यवस्थापनमा थप सकस भएको हो ।

महामन्त्रीमा बालकृष्ण खाँड, डाक्टर प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउद, रमेश लेखकलगायतका नेताहरुले दाबी गरेका छन् । उम्मेदवारको प्यानल निर्माणका लागि संस्थापन पक्ष अहिले सभापति देउवाको निवास बुढानिलकण्ठमा छलफलमा जुटिरहेको छ ।

संस्थापन इतर समूहको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसिरहेको छ । सिटौला समूहसँग देउवाले सहमति गरेपछि थप दबाबमा देखिएको इतर समूहले सभापतिको साझा उम्मेदवार अझै तय गर्न सकेको छैन् ।

बत्तीसपुतली स्थित एक पार्टी प्यालेसमा गएराति अबेरसम्म भएको छलफलमा शेखर कोइराला र प्रकाशमान सिंह दुवैले आफ्नो दाबी छाडेका छैनन् । कोइराला रामचन्द्र पौडेललाई भए छाड्न तयार भएपनि सिंह पछि नहटेपछि उनी पनि आफ्नो अडानमा यथावत रहेका हुन् । पौडेल आफ्नो समूहमा सर्वसम्मत भए मात्रै उम्मेदवारी दिने तयारीमा छन् ।

सकभर साझा नेतृत्व निर्माणमा प्रयास भइरहेको नेताहरुले बताएका छन् । तर सहमतिका लागि छलफल चलिरहँदा सिंहले आज विहान १० बजे आफ्नो उम्मेदवारी तथा अवधारणा सार्वजनिक गर्ने तयारी गरे । यसले गर्दा संस्थापन इतरपक्षबाटै दुई जना उम्मेदवार बन्ने सम्भावना बढाउँदै लगेको छ ।

उम्मेदवार मनोनयनको दर्ता बिहान १० बजे देखि साँझ ५ बजे सम्मको समय तोकिएको छ । मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ ।

आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुने छ । नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस