देउवाले पाएनन् बहुमत, पुनः मतदान हुने

मंसिर २८, काठमाडौं । नेपाली कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि कुल मतको बहुमत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । सभापतिको दौडमा शुरुदेखिनै अगाडी रहेका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन । अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् । सभापतिमा सिंहले ३७१, निधिले २४९ र गुरुङले २० मत प्राप्त गरेका छन् ।

कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्छ ।

निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply