मंसिर २९, काठमाडौं । प्रदेश नं २ को प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजेका लागि बोलाएका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकेको र बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ । त्यस्तै, आजको बैठकबाट प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुनेछ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ ।