माल्टामा गाँजाले पायो वैधानिकता

मंसिर २९, काठमाडौँ । युरोपेली देश माल्टाले व्यक्तिगत प्रयोगको लागि गाँजालाई वैधानिकता दिने कानुन पास गरेको । यसै हप्तादेखि लागु हुनेगरी नयाँ कानुन संसदबाट पास भएपछि माल्टामा गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता मिलेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।

संसदबाट पारित भएको कानुनलाई राष्ट्रपतिले प्रमाणित गरेपछि यसै हप्ताबाट लागु हुने माल्टाका मन्त्री ओवेन बोनिचीले बताएको खबरमा उल्लेख छ । उनले गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता दिँदा आपराधीकरण घट्ने र मानिसले औषधिको रुपमा समेत सजिलै प्रयोग गर्न पाउने भएकाले खुसी लागेको बताए । माल्टा गाँजालाई वैधानिकता दिने पहिलो युरोपेली देश समेत बनेको छ ।

माल्टामा अब १८ वर्ष माथिका नागरिकले ५० ग्रामसम्म सुख्खा गाँजाको भण्डारण गर्न सक्नेछन् भने घरमा चारवटा सम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ । सात ग्रामसम्म गाँजा साथमा लिएर हिँड्न अनुमति दिइनेछ । युरोपका अन्य देशमा पनि गाँजालाई वैधानिकता दिने विषयको बहस चर्किएको छ ।

संयुक्त राष्ट्रसंघले गएको वर्ष नै गाँजालाई अति खतरनाक लागुपदार्थको सूचीबाट हटाएको थियो ।

संम्बन्धित समचार

Leave a Reply