राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथितिः उपकुलपतिका कुकुरको उपचार बिल पनि प्रतिष्ठानमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ३, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ३, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निवर्तमान उपकुलपति डा. संगीता भण्डारीले व्यापक अनियमितता गरेको भेटिएको छ । घरको खाना, खाजादेखि कुकुरको उपचार खर्चसमेत प्रतिष्ठानका नाममा बिल बनाउने गरेको भेटिएको हो ।

घरायसी ठूला खर्च प्रतिष्ठानबाटै उठाउने गरेकी भण्डारीले काठमाडौंस्थित घरमा पालेको कुकुरको उपचारमा लागेको चार सय रुपैयाँको बिल पनि पेस गरेकी छन् । गत ३ जेठमा ललितपुरको जावलाखेलस्थित मोबाइल भेटेरिनरी कन्सल्टेन्सी सर्भिसबाट कुकुरका लागि लिएको सेवाको शुल्क निकासा गर्न माग गरेकी हुन् ।

भण्डारीले भने अन्य बिलमा कतै झुक्किएर कुकुरको उपचारको बिल परेको हुन सक्ने दाबी गरिन् । ‘मैले त्यस्तो बिल पेस गरेको छैन, कहिलेकाहीँ मिक्स भएर मेरो अफिसमा भेटिन सक्छ, त्यो छुट्टै कुरा हो,’ उनले भनिन् ।

भण्डारीले एक संवादपछि  ड्राइभरहरूले पेस गरेको बिल हुन सक्ने दाबी गरिन् । ‘ड्राइभरहरूले पेस्की लिन्छन्, पछि बिल पेस गर्छन् । मैले एकाउन्टमा सोध्दा एकपटक त्यस्तो बिल पेस भएको थियो भन्नुभयो । तर, त्यसको भुक्तानी भएको छैन । भुक्तानी भएको छ भने भन्नुस्, म आफैँ तिर्छु । जाबो दुई–तीन हजारको बिल पनि त्यसो गर्छ ।’ प्रतिष्ठानका अधिकारीले भने कुकुरको उपचारको बिल पेस मात्र नभई भुक्तानी नै लगिसकेको बताए ।

गत आइतबार चारवर्षे कार्यकाल सकिएकी भण्डारी बिहीबार मात्रै नयाँ उपकुलपति आएपछि पदमुक्त भएकी छिन् । त्यसो त राजनीतिक पहुँचकै कारण २३ मंसिरमा मन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई प्रतिष्ठानको उपकुलपतिमा निरन्तरता दिन पत्र गएको थियो । तर, स्वास्थ्य मन्त्रालयको चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको थियो । प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मा शिक्षाध्यक्ष डा. वसन्त लामिछानेले पाएका छन् ।

 

 

नयाँ पत्रिका दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस