दुई कम्पनीको शेयर मूल्य समायोजन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष ५, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार दुई ओटा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो ।

दुई ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले बोनस शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले एचआइडिसीएलको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २४८.३३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २६८.२० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारितका लागि कम्पनीले पुस २२ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे कम्पनीको रजिष्टर्ड कार्यलय हात्तीसार काठमाडौंमा गर्ने कम्पनीले जानकारीे गराएको हो ।

त्यस्तै, नेप्सेले साना किसान लघुवित्तको २५ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार १७६ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ४७० मा अन्तिम कारोबार भएको थियो ।

साना किसान लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस १८ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सोमबार यही समायोजन मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस