मेडिकल कलेजले शुल्क नघटाए सिट संख्या घटाउने चेतावनी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ पौष ८, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ८, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो ।

आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो ।

आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सिट रोक्का गर्न पत्र पठाउने तयारी भइरहेको बताए । कारबाही गर्ने अधिकार आयोगसँग नभएको गुनासो गर्दै उनले भने, ‘के गर्ने, कारबाही गर्ने अधिकार हामीलाई रहेनछ, बढी शुल्क लिने कलेज भएका जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी कारबाही गर्न आग्रह गरेका छौं ।’

उनका अनुसार मनपरी शुल्क लिने कलेजमाथि कारबाही अघि बढाउन कास्की, मोरङ, काठमाडौं, पर्सा, लुम्बिनी र चितवन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ । आयोगले मेडिकल कलेजको सम्बन्धन दिएका सबै विश्वविद्यालयलाई समेत बढी शुल्क लिएका कलेजमाथि कारबाही गर्न पत्र पठाएको छ ।

शैक्षिक सत्र २०७७/०७८ का लागि लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भई अध्ययनका लागि गएका विद्यार्थीलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा २ (थ) मा उल्लेख भएको शुल्क पुनः लिन नपाउने स्पष्ट हुँदाहुँदै सरकारी निर्देशनको अवज्ञा गर्ने कलेजमाथि कारबाही गर्नुपर्ने माग बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस