आज बागमतीका मुख्यमन्त्रीले जवाफ दिने, माफि नै माग्नुपर्ने एमालेको अडान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ८, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ८, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक ११ बजे बस्नेछ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको कुराको जवाफ दिने भएका छन् ।

एमालेले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने,मुख्यमन्त्री पाण्डेले धादिङमा दिएको सार्वजनिक अभिव्यक्तिीबारे माफी माग्नुपर्ने र मन्त्रालय विभाजनको विषय सदनमा स्पष्ट रुपमा जवाफ दिनुपर्ने माग गर्दै बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको गरेको थियो । एमालेका सांसदहरुको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले आज बस्ने गरी बुधबारको बैठक स्थगित गरेका थिए ।

एमालेको कारण संसद बैठक अवरुद्व भएपछि मुख्यमन्त्री पाण्डेले आफ्नो दल नेकपा एकीकृत समाजवादीका सांसदहरुसँग छलफल गरेका थिए । एमालेले बैठकमा अवरोध सिर्जना गर्ने पहिले नै चाल पाएपछि प्रदेशसभा भित्र गएका मुख्यमन्त्री बैठकमा प्रवेश नगरि दलको कार्यालयमा नै बसेका थिए । सभामुखले बैठक स्थगित गरेपछि आफ्नो दलको सांसदहरुसँग करिव एक घण्टा छलफल गरेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्मा पनि सरकारको मन्त्रिहरुसँग करिव दुईघण्टा छलफल गरेर प्रदेशसभाको बिहिबारको बैठकमा जवाफ दिने निर्णय गरेका हुन् ।

सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामीला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले एमाले संसद निरन्तर अवरुद्व गर्ने मनशायमा रहेको भन्दै त्यस्तो हुन नदिन मुख्यमन्त्रीले संसदमा जवाफ दिन लागेको बताए । उनले भने ‘एमाले सबैतिर संसद अवरुद्व पार्ने मनशायमा छ । निरन्तर रुपमा संसद चल्न नदिने एमालेको योजना छ । तर, त्यस्तो हुन नदिन मुख्यमन्त्रीले आज जवाफ दिनुहुन्छ ।’

यता एमालेले भने मुख्यमन्त्रीले संसदमा जवाफ मात्रै दिएर नहुने भन्दै माफी नै माग्नुपर्ने अडान लिएको छ । एमालेको मुख्य सचेतक दीपक निरौलाले मुख्यमन्त्री पाण्डेले आफ्नो दलको कमिटी गठन गरेको स्थानमा मात्रै बजेट विनियोजन गर्ने भनेर दिएको अभिव्यक्तीको बारेमा सदनमा सार्वजनिक रुपमा माफी मागेमा मात्रै सदन चल्न दिने बताए । मुख्यमन्त्रीले सदनमा माफी नमागे बिहिबारको बैठक पनि अवरुद्व गर्ने उनले चेतावनी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस