राजश्व छल्ने १० जना बिरुद्ध करिब ५२ करोड माग दाबीसहित मुद्दा दर्ता

पुस १०, काठमाडौं । राजश्व चुहावट गर्ने १० जना बिरुद्ध ५१ करोड ८६ लाख ४२ हजार २ सय ५४ रुपियाँको माग दाबीसहित मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले विभिन्न मितिमा ४ वटा मुद्दा दर्ता गरेको हो ।

विभागले वाराको प्रसौनी गाउँ पालिका ४ स्थित लार्ज ट्रेड लिंक प्रालिका सञ्चालक अर्जुन पटेल, हाल महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर बस्ने जयकिशोर साह, बाराको सिरहा पिपरा बस्ने सूर्यजीतप्रसाद साह र सर्लाही जिल्ला घर भई कागेश्वरी नगरपालिका १३ काँडाघारी बस्ने तोयानाथ अधिकारी विरुद्ध पुस ८ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी वीरगञ्ज उपमहानगरपालिका ७ बस्ने तुराहा सप्लायर्स प्रालिका सञ्चालक हरिनायण साह, पर्सा घर भई इमाडोल बस्ने किशोर साह र पिपरा बस्ने सूर्यजीतप्रसाद साहलाई पुस ८ गते नै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो । उनीहरुलाई २ करोड १८ लाख ९८ हजार १ सय २४ रुपियाँ बिगो र सोही मात्रामा सजाय हुने बिगो दाबी गरिएको छ ।

अभियुक्तहरुले वस्तु तथा सेवा खरिदनै नगरी झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी भ्याट र आयकर समेत चुहावट गरेको पाइएपछि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उनीहरु विरुद्ध १८ करोड ३५ लाख २२ हजार २ सय ८६ रुपियाँ बिगो र सोही मात्रामा सजायको बिगो दाबी गरिएको छ ।

यसैगरी मुस्ताङ जिल्ला घर भई हाल शिवालय चोक पोखरा बस्ने छिरिङ ढुन्डु गुरुङले अमेरिक डलर अबैध रुपमा सञ्चय तथा ओसारपसार गरेकोमा २ करोड ३२ लाख ७४ हजार १ सय १० रुपियाँ बिगो र सोही मात्रामा सजाय हुने बिगो दाबीसहित पुस ९ गते कास्की जिल्ला अदालत पोखरामा मुद्दा दर्ता गरिएको छ ।

यता, अर्घाखाँची जिल्ला घर भई हाल बाँके नेपालगञ्ज ४ सेतु विक चोक बस्ने सैपादिन मियाँ र भारतको बहराइच जिल्ला रामलिला चोक रुपैडिया घर भएका अमन मित्तल बिरुद्ध पुस ४ गते उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा मुद्दा दर्ता गरिएको छ ।

विभागले गरेको अनुसन्धानबाट भन्सार चोरी पैठारी गरेका कपडाजन्य मालवस्तुहरु अर्काको फर्मको नक्कली बिजक छपाएर त्यसको प्रयोग गरी मालबस्तु बिक्री वितरण गरेको पाइएपछि मुद्दा दर्ता गरिएको आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । उनीहरुलाई १ करोड ८९ लाख ८९ हजार ४ सय ४७ रुपियाँ बिगो र सोही बमोजिम सजाय हुने बिगो दाबीसहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply