पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः अधिकांश स्थानमा वर्षा र हिमपात

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ पौष १४, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १४, काठमाडौं । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण अधिकांश पहाडी राजमार्ग अवरुद्ध भएका छन् भने नियमित उडान समेत सञ्चालन हुन सकेका छैनन् । फुलचोकी, शिवपुरी चन्द्रागिरिलगायत काठमाडौं आसपासका डाँडाहरुमा बिहानैदेखि हिउँ परिरहेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई उडान तथा यातायातसमेत अवरुद्ध भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मौसममा आएको बदलावका कारण काठमाडौंबाट हुने आन्तरिक उडान बुधबार प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कर्मचारीले सोलुखुम्बुको लुक्ला र पोखरामा उडान हुन नसकेको जनाएको छ ।

त्यस्तै, नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण भोजपुर र ताप्लेजुङको उडान रद्द गरेको छ । यसैगरी, धनगढी, भद्रपुर, सिमरा, नेपालगञ्ज, जनकपुर, भैरहवा, सुर्खेत, विराटनगर र भरतपुरमा उडान भइरहेको छ भने पोखरा र लुक्लामा भने उडान हुन नसकेको कार्यालयले जनाएको छ ।

यस्तै, बागलुङका उच्च पहाडी क्षेत्रमा हिमापात भएको छ । मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा हिमपातले अवरुद्ध हुँदा बागलुङ, रुकुम, तथा काठमाण्डौ लगायत अन्य क्षेत्रका लागि छुटेका सवारी साधा बाटोमै अलपत्र परेका छन् ।

जिल्लाको तल्लो तल्लो भागमासमेत हिउँ झरेको छ । ढोरपाटन उपत्यकमा बाक्लो हिउँ पर्दा सो क्षेत्रको सडक तथा सञ्चार सञ्जाल अवरुद्ध भएको छ । बाक्लो हिमपातको कारण जनजीवन कष्टकरण बनेको छ ।

यस्तै, हिमपातले बैतडी–बझाङ सडक अवरुद्ध भएको छ । बैतडीको खोड्पे, अनारखोली, श्रीभावर, गर्जे, सतबाँझ, देहिमाडौं, ग्वाल्लेक, धर्मघर लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । मङ्गलबार बेलुकीदेखि परेको हिमपातका कारण यातायात प्रभावित भएको छ । हिमपातपछि चिसोका कारण पहाडी जनजीवन प्रभावित बनेको छ ।

यस्तै हुम्लामा पनि भारी हिमपात भएको छ । हिमपातले चिसो बढेर जनजीवन प्रभावित भएको छ भने पशुवस्तु गोठबाट निकाल्न सकिने अवस्था छैन । हुम्लामा यसवर्षको तेस्रो पटकको हिमपात भए पनि यो ठूलो हिमपात भएको हो ।

यता, बाजुरामा पनि मङ्गलबार रातिदेखि हिमपात भएको छ । हिमपात सुरु भएसँगै जिल्लाको जनजीवन पनि निकै प्रभावित बन्दै गएको छ । हिमपातका कारण चिसो बढ्न थालेपछि जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक, हिमाली, जगनाथ गाँउपालिका र बुढिनन्दा, छेडेदह, त्रिवेणी, बुढीगङ्गा, बडिमालिका नगरपालिकालगायतको जनजीवन प्रभावित बन्दै गएको हो ।

यस्तै, हिमालपारिको जिल्ला मुस्ताङमा पनि हिमपातले जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङ भ्रमणमा गएका टोली बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको भेनामा हिउँमा फसेपछि इलाका प्रहरी कार्यालय छुसाङले उद्धार गरेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मुस्ताङका पाँच वटा गाउँपालिकामध्ये माथिल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकामा हिजो बेलुकादेखि सञ्चार सम्पर्क टुटेको छ । हिजोदेखि परेको हिउँ तल्लो भेकको घाँसादेखि लोमन्थाङसम्मै परेको प्रजिअ शर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस