‘नेपाली फिल्मले साउथ फिल्मको पनि डर मान्नु पर्ने अवस्था आयो’: निर्माता ओझा

पुस १७,काठमाडौँ । कोरोना महामारीभन्दा अगाडि नेपाली फिल्मलाई हलिउड र बलिउडका फिल्मको मात्र ‘थ्रेट’ थियो । तर, २ वर्षको बन्दाबन्दीपछि नेपाली फिल्मले साउथ फिल्मको पनि डर मान्नु पर्ने अवस्था आएको छ । सस्तोमा साउथ फिल्मको हिन्दी डब पाइने र नेपालमा साउथ फिल्मको ठूलो क्रेज भएकाले अचेल नेपालका वितरकहरु हिन्दीभन्दा साउथ फिल्मको डब किन्न दौडधुप गरिरहेका छन् ।

साउथको हिन्दी डब फिल्म ‘बाहुबली, केजिएफ, पुष्पा, साहो’ ले नेपालमा गरेको व्यापार हेर्दा अब नेपाली फिल्मलाई बलिउड र हलिउडका फिल्मभन्दा साउथ फिल्म ‘थ्रेट’ बन्नेछ । वर्षमा तमिल, तेलुगू, मलालयम, कन्नड लगायतका भाषामा सयौं फिल्म निर्माण र प्रदर्शन हुने गर्छन् । ती सबै फिल्ममा चलेका कलाकारहरुको अभिनय हुन्छ भने सबै फिल्म हिन्दीमा डबिङ हुने गरेका छन् ।

साउथमा बन्ने सबै फिल्मको हिन्दी डब नेपाल आउने हो भने नेपाली फिल्म यूट्युबमै सीमित हुनुपर्नेछ । आफ्नै देशमा बन्ने नेपाली फिल्म पाखा पाग्ने अवस्था आएपछि फिल्मकर्मीहरुले अब नेपाली फिल्म सकिएको टिप्पणी गर्न थालेका छन् । बाघ निर्माताको रुपमा चिनिने छविराज ओझाले एक अन्तर्वार्तामा कोरोनापछिको सिनारियो हेर्दा अब नेपाल फिल्म सकिन लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘लकडाउन पछाडि नेपाली फिल्मको सिनारियो हेर्ने हो भने अब नेपाली फिल्म विस्तारै विस्तारै सकिएकै हो । पहिला हामी सलमान खान, शाहरुख खान, आमिर खानको फिल्मसँग भाग्नु पर्थ्यो तर अहिले अंग्रेजी र डब फिल्मसँग भाग्नुपर्ने अवस्था आएको छ । नेपालमा धेरै विदेशी फिल्म आउन थालेपछि नेपाली फिल्मले शो पाउँदैन । अनि, सकिएन नेपाली फिल्म ?’

सिंगल हलहरु बन्द हुँदै जानु नेपाली फिल्मका लागि अभिसाप बनेको उनको तर्क छ । ‘अहिले मल्टीप्लेक्सहरु धेरै आए । सिंगल हलहरु छँदै छैन । नेपाली फिल्मको गड मानिने ठाउँहरु विस्तारै बन्द हुँदै गएका छन् । जसले गर्दा अब नेपाली फिल्म कहाँ लाग्ने ? कसरी लाग्ने ? भन्ने समस्या आएको छ । अब मल्टीप्लेक्सहरुमा विदेशी फिल्मका कारण शो पाउन पनि गाह्रो छ,’ उनले भने ।

विदेशी फिल्म नेपाल आउनु नराम्रो नभए पनि जस्तो पायो त्यस्तो फिल्म ल्याउन नहुने उनको सुझाव छ । निर्माता ओझा अगाडि भन्छन्, ‘भारतमा बन्ने फिल्म नेपाल आउनै पर्छ । साउथका पनि राम्रो फिल्म नेपाल आओस् । तर, साउथमा ७ सयभन्दा बढी फिल्म निर्माण हुने गर्छ, त्यो सबै नेपाल ल्याउन आवश्यक छ र ? यो कुरालाई रोक्न चलचित्र विकास बोर्डले कानुन ल्याउनु पर्छ ।’

आफूले ३५ वर्ष नेपाली फिल्म इन्डस्टीमा विताएको बताउँदै निर्माता ओझाले आफूले बनाउने फिल्म हलमा नलागे यूट्युबका लागि भए पनि बनाउने बताए । ‘मेरो शरीरमा बग्ने रगतमै नेपाली फिल्म छ । मैले हलमा लगानी गरेको भए पनि म हलवाला भन्न रुचाउँदिनँ । म निर्माता हो,’ उनले भने, ‘भोली मैले बनाउने फिल्म हलमा लागोस् वा नलागोेस्, यूट्युबका लागि भए पनि बनाउँछु ।’

संम्बन्धित समचार

Leave a Reply