कात्तिक २७, काठमाडौं । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ ।
लस एन्जलसस्थित सिडर–साइनाई मेडिकल सेन्टरमा उनको निधन भएको हो । पछिल्ला वर्ष उनलाई निमोनियासहितका विभिन्न रोगले ग्रस्त बनाएको थियो ।
उनी अमेरिकाका लेजेन्ड लेखक, प्रकाशक तथा सम्पादक थिए । जीवन्त कमिक क्यारेक्टर सिर्जना गरेका लीलाई विश्वभरका कमिक बुक लभरले मनपराउँछन् ।
उनले सिर्जना गरेका धेरै पात्र हलिउडका सफल पात्र र चलचित्र बनेका छन् ।
स्पाइडर म्यान, द इनक्रेडेबल हल्क, ब्ल्याक प्यान्थर, द एक्स–म्यान, द माइटी थोर, आइरन म्यानसहितका जीवन्त पात्रको सिर्जना उनले गरेका हुन् ।
सन् १९३९ देखि काम थालेका ली हरेक मार्भेल फिल्मस्मा आबद्ध रहँदै आएका थिए ।
रोमानियाबाट अमेरिका बसाईँ सरेका यहुदी परिवारमा लीको सन् १९२२ मा जन्म भएको हो ।(एजेन्सी)