काठमाडौमा मनाइयो विश्व हिन्दी दिवस

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ पौष २६, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २६, काठमाडौ । भारतीय राजदूतावासले आज काठमाडौमा विश्व हिन्दी दिवसको आयोजना गरेको छ । सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवम् उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गर्दछ ।

दूतावासस्थित प्रेस, सूचना एवम् संस्कृति प्रभागका प्रमुख नवीन कुमारले कार्यक्रमको अध्यक्षता गरेका थिए । उनले भारतका सम्माननीय प्रधानमन्त्रीले यस अवसरमा दिएको सन्देश पढेर सुनाए । भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको सन्देश तथा शुभकामना भिडियोमार्फत प्रस्तुत गरिएको थियो।

नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथिको रुपमा उपस्थित थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा. डा. उषा ठाकुर विशिष्ट अतिथि थिए । विश्व हिन्दी दिवसको अवसरमा विशेष गरी हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा भारतबाट आएका तीन प्रख्यात कवि सुदिप भोला,  विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरे ।

सो कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरे जसका लागि उनीहरुलाई पुरस्कृत गरिएको थियो । हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरु’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार श्रीमती करुणा झाको कविता संग्रहको विमोचन मुख्य गरे । हिन्दी पत्रिका ‘हिमालिनी’ को नयाँ अंक अतिथिहरुलाई वितरण गरिएको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले सुमधुर समूह गीत प्रस्तुत गरे । आफ्नो मन्तव्यका क्रममा मुख्य अतिथि राकेशले भारत र नेपालको मैत्री सम्बन्धमा हिन्दी भाषाको सदियौंदेखि अहम् भूमिका रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस