उत्तर कोरियाले नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी

पुस २८,काठमाडौँ । उत्तर कोरियाले नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ ।

नेता किम जोङ उनको रेखदेखमा हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ । सन् २०२० को मार्च महिनायता क्षेप्यास्त्र प्रक्षेपण हुँदा नेता किम उपस्थिति भएको यो पहिलो पटक हो । हिजो परीक्षण गरेको क्षेप्यास्त्रबारे यसअघि विस्तृत विवरण आएको थिएन । नयाँ हाइपरसोनिक क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको खबरमा उल्लेख छ ।

नयाँ वर्षको अवसरमा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बताउनुभएको थियो । त्यसपछि दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन् । उत्तर कोरियाले यसअघि जनवरी ५ तारिखमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफलतापूर्वक गरेको थियो । अमेरिका, बेलायत, जापान, फ्रान्सलगायत देशले त्यसको निन्दा गरेका थिए ।

हाइपरसोनिक अस्त्रको गति ध्वनिकोभन्दा पाँच गुणा बढी अर्थात् प्रतिघण्टा ६ हजार २०० किलोमिटर हुन सक्छ । हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशमा उत्तर कोरिया पर्छ । अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply