रसुवागढी नाकामा एकीकृत जाँच चौकी निर्माणको काम ६५ प्रतिशत सकियो

पुस २८,काठमाडौँ । रसुवागढी नाकामा छरिएर रहेका कार्यालयहरूलाई एकै ठाउँमा राख्नका लागि निर्माण थालिएको एकीकृत जाँच चौकी (आइसिपी) को निर्माणले गति लिएको छ ।

अबको एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको हो । हालसम्म आइसिपी निर्माणको ६५ प्रतिशत काम सकिएको छ । भवन पाँच तलाको हुने छ । यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहने छन् । भवन निर्माण पश्चात जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने छ ।

आउँदो चैतसम्ममा निर्माण सम्पन्न गर्ने समयसीमा भएकाले कामलाई तीव्रता दिइएको श्यामसुन्दर रबिना जेभी कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर योगेन्द्र तुम्बाहाङफेले बताउनुभयो । तर तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न हुने देखिँदैन । सुपर स्ट्रक्चरको काम सम्पन्न गर्न करिब एक वर्ष लाग्ने छ ।

नाकामा आयात निर्यात हुने सामग्रीको जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि आइसिपीको निर्माण गरिएको हो । २०७५ पुसदेखि आइसिपीको निर्माण सुरु भएको थियो ।

आइसिपी निर्माणको ठेक्का पाएको श्यामसुन्दर रबिना जेभी कन्स्ट्रक्सनले आइसिपी भवन निर्माणको साथै शसस्त्र प्रहरी बलको भवनको काम पनि गरिरहेको छ । आइसिपी भवनको पहिलो तलाको ढलान गर्ने काम चलिरहेको उहाँले बताउनुभयो । अहिले त्यहाँ ४८ जना कामदारले काम गरिरहेका छन् ।

२०७५ पुसदेखि निर्माण सुरु भएपनि कामले गति लिन सकेको थिएन । अहिले आइसिपी निर्माणले गति लिएको छ । कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाई, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण निर्माण कार्य सुस्त भएको थियो ।

निर्माण प्रक्रिया सुरु भएपछि आफूले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुस १९ मा सर्वोच्च अदालतमा रिट हालेको थियो । अदालतमा परेको रिट निवेदन २०७५ जेठ २४ मा खारेज भएको थियो ।

सर्वोच्चले रिट निवेदन खारेज गरेपछि निर्माणको काम सुरु भएको थियो । सम्झौता अनुसार २०७७ असार २५ मा भवन निर्माण गरिसक्नु पर्ने थियो । विभागका अनुसार ६१ करोड ९८ लाख ६८ हजार ७५ रुपैयाँ खर्च हुने छ ।

संम्बन्धित समचार

Leave a Reply