अभिनेत्री दीया पुनले सगरमाथाको आरोहण गर्ने

पुस २८,काठमाडौँ । अभिनेत्री दीया पुनले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको आरोहण गर्ने भएकी छन् । उनले व्यक्तिगत खर्चमा आउँदो अप्रिल महिनामा सगरमाथाको आरोहण गर्न लागेकी हुन् । बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत उनले आफ्नो व्यक्तिगत सौख पूरा गर्न भन्दा पनि संसारभरका नर्सहरुको मनोवल बढाउन सगरमाथाको आरोहण गर्न लागेको बताएकी छन् ।

यसअघि उनले ८ हजार १ सय ६३ मिटर संसारको आठौं अग्लो मनास्लु हिमाल चढिसकेकी छन् । पुनले सन् २०१८ अर्जेन्टिनाको ६ हजार ९ सय ६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको पनि आरोहण गरेकी थिइन् । कोरोना महामारीका कारण रसियास्थित सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकास्थित सबैभन्दा अग्लो माउन्ट किलिमञ्जारो चढ्ने उनको योजना भने पूरा हुन सकेन ।

सगरमाथा आरोहणमार्फत् बेलायतमा अवस्थित राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालस्थित चिल्ड्रेन एण्ड युथ फर्स्टलाई आर्थिक सहयोग संकलन गर्ने उनको उद्देश्य रहेको छ । मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी दीयाले ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दयारानी’, ‘मन्त्र’ फिल्ममा अभिनय गरेकी छन् ।

उनी अभिनीत फिल्म ‘मन्त्र’ यही माघ २८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनी यो फिल्मको प्रचार(प्रसारका लागि नेपाल आउने तयारीमा छन् । खिल बहादुर गुरुङ निर्देशित फिल्ममा सौगात मल्ल, नमिता घिसिङ, बिर बहादुर लामा, पासाङ टि शेर्पाको पनि अभिनय रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ ।

संम्बन्धित समचार

Leave a Reply