विदेशी मुद्राको सञ्चिति घट्यो ! राष्ट्रको ढुकुटीमा कति छ डलर ?

पुस ३०,काठमाडौँ । विदेशी मुद्राको सञ्चिति घटेको छ । देशभित्र रहेको विदेशी मुद्रा सञ्चितिको अवस्थाले करिब साढे सात महिनाको वस्तु आयात तथा छ महिना आठ दिनको वस्तु तथा सेवा आयात मात्रै धान्न सक्ने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०७८ मङ्सिर मसान्तमा राष्ट्रको ढुकुटीमा १२ खर्ब १४ अर्ब तीन करोड रुपियाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ जुन पाँच महिनाअघि अर्थात् असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपियाँ बराबर रहेको थियो । अमेरिकी डलरको अवस्थालाई हेर्दा पनि मङ्सिर मसान्तसम्म जम्मा १० अर्ब तीन करोड मात्र रहेको छ । असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या घटेसँगै विप्रेषण आप्रवाह पनि घटेको छ । यस अवधिमा एक लाख ३१ हजार ८२ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.७ प्रतिशतले कम हो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ ।

वैदेशिक रोजगारीमा आएको शिथिलताले विप्रेषण आप्रवाहमा ६.८ प्रतिशतले कमी आएर तीन खर्ब ८८ अर्ब ५८ करोड रुपियाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७।३ प्रतिशतले कमी आई तीन अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६।४ प्रतिशतले बढेको थियो ।

संम्बन्धित समचार

Leave a Reply