राष्ट्र बैँकको नयाँ तथ्याङ्क: ह्वात्तै मूल्य वृद्धि, व्यापार घाटा बढ्यो

पुस ३०,काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैङ्कले देखाएको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थको ५।६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ८.२५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको मङ्सिर मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा घिउ तथा तेलमा साढे २८ प्रतिशत, यातायात, दाल तथा गेडागुडीमा १६.२५ प्रतिशत, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहमा ११.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा जम्मा सात खर्ब ३५ अर्ब ४९ करोड रुपियाँको व्यापार घाटा भएको राष्ट्र बैङ्कले जनाएको छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात १२.३ प्रतिशत पुगेको छ जब कि अघिल्लो वर्ष यस्तो अनुपात ९.५ प्रतिशत मात्र थियो ।

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरको अवधिमा एक खर्ब दुई अर्ब ९२ करोड रुपियाँको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा ५.१ प्रतिशतले बढेको थियो । यस्तो निर्यात सबैभन्दा बढी भारततर्फ १३८ प्रतिशत रहेको छ भने अन्य मुलुकमा २८.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुटका सामानको निर्यात बढेको छ । अलैँची, चिया, जस्तापाता, तार र तामाको तारलगायतको निर्यात घटेको छ ।

चालू आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ४४.६ प्रतिशत, चीनबाट ५७.८ प्रतिशत तथा अन्य मुलुकबाट भएको आयात १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधि, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्तीलगायतका वस्तुको आयात घटेको छ ।

संम्बन्धित समचार

Leave a Reply