तिनकुनेमा बनिरहेको ‘आर्क नेटवर्क ब्रिज’को प्रगति सुस्त ! म्यादमात्रै सकियो, काम सकिएन

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७५ कार्तिक २७, मंगलबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

परिवर्तन देवकोटा

कार्तिक २७, काठमाडौं । ठेकेदारको ढिलासुस्तीका कारण बिजुलीबजार र तिनकुनेमा बनिरहेको ‘आर्क नेटवर्क ब्रिज’को प्रगति सुस्त देखिएको छ । दुवै पुल निर्माण सम्पन्न गर्न तोकिएको समयावधि सकिँदासमेत यी पुलको निर्माणकार्य सुस्त गतिमा अगाडि बढेको हो ।

उपत्यकाका सडक विस्तारपछि साँघुरिएका पुललाई फराकिला बनाउने योजनाअन्तर्गत सरकारले यो पुल निर्माण कार्य अघि बढाएको थियो ।

बिजुलीबजारको धोविखोलामा निर्माणाधीन ‘आर्क नेटवर्क ब्रिज’ अहिलेसम्म जम्मा ५५ प्रतिशतमात्रै सम्पन्न भएको छ । त्यस्तै, तिनकुनेस्थित बागमती खोलामा निर्माणाधीन रहेको अर्को ‘आर्क नेटवर्क ब्रिज’ को निर्माणकार्य पनि एकदमै सुस्त छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाकाअनुसार यो पुल अहिलेसम्म जम्मा ३५ प्रतिशत निर्माण सम्पन्न भएको छ भने, अझै ६५ प्रतिशत काम बाँकी रहेको छ ।

म्यादमात्रै सकियो, काम सकिएन

२०७१ पुस १३ गते सरकारले बिजुलीबजारको पुल निर्माण गर्ने जिम्मा जेई कन्स्ट्रक्सन र तिनकुनेको पुल निर्माण गर्ने जिम्मा पप्पु कन्स्ट्रक्सनलाई दिएको थियो । सम्झौताअनुसार धोबीखोला पुल निर्माणको समयावधि २०७४ पुस १३ गते सकिएको छ, भने तिनकुनेको पुल बनाउने समय गत असार ५ गते नै सकिएको हो ।

नेपालमै पहिलोपटक बनाइन लागेको अत्याधुनिक प्रविधिको यी दुई पुलमध्ये धोविखोलामा बनिरहेको ५० मिटर लामो पुलको निर्माण लागत १३ करोड रुपैयाँ रहेको छ भने, तिनकुनेको बागमती खोलामा बनिरहेको ८५ मिटर लामो पुललाई २१ करोड रुपैयाँमा बनाउने ढेक्का दिइएको हो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकृत इञ्जिनियर विश्व विजयलाल श्रेष्ठकाअनुसार अहिलेसम्ममा धोविखोलामा निर्माणाधीन पुलका लागि कुल बजेटमध्ये ७ करोड रुपैयाँ खर्च भएको छ भने, तिनकुनेमा बनिरहेको पुलको लागि ६ करोड ७७ लाख रुपैयाँ निकाशा भएको छ ।

ज्ञानको अभावमा निर्माणमा समस्या

नेपालमै पहिलोपटक बनाइन लागेको अत्याधुनिक प्रविधिको यी दुई पुलको निर्माणकार्य सुस्त देखिए पनि काम भने नियमित नै भैरहेको सडक विस्तार आयोजनाले दावी गरेको छ ।

यी दुई पुल निर्माणकार्य नियमित भइरहे पनि कतिपय कामहरू प्राविधिक ज्ञानको अभावमा प्रभावित भएको इञ्जिनियर श्रेष्ठ बताउँछन् । नयाँ प्रविधिको प्रयोग हुनाले ठेकेदारहरूसँग सैद्धान्तिक ज्ञान भए पनि प्राविधिक ज्ञान कम भएकाले निर्माणकार्य सुरुदेखि नै ढिला भयो, उनले भने ।

आयोजनाका इञ्जिनियर श्रेष्ठकाअनुसार २०७१ पुसमा ठेकेदारले काम सुरु गर्ने जिम्मा पाएको थियो । तर, २०७३ वैशाखबाट मात्रै पुल निर्माणको काम अघि बढेको हो । उनी भन्छन्, ‘पुलको डिजाइन फाइनल गर्न नै १ वर्ष लाग्यो, त्यसैले पनि काम ढिला भएको हो ।’

उनले पुल निर्माणका लागि आवश्यक सबै पाटपूर्जाहरू विदेशबाट नै आयात गर्नुपर्ने भएकाले पनि पुल निर्माणमा ढिलाई भएको बताए ।

‘केही मेसिन बिग्रिहाल्यो भने पनि सामान लिन विदेश नै जानुपर्छ । त्यसैले काममा ढिला हुन्छ’ उनले भने ।

कहिले बन्छ पुल ?

निर्माण सुरु भएको चार वर्ष बितिसक्दा जम्मा ३५ प्रतिशतमात्रै निर्माणसम्पन्न भएको तिनकुनेको पुल अब जम्मा साँढे १ वर्षमा सम्पन्न हुने सडक विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाका सूचना अधिकृत श्रेष्ठले अबको साँढे १ वर्षभित्रमै तिनकुनेको पुल निर्माण सकिने र एक वर्षमा धोबिखोलाको पुल संचालनमा आउने दावी गरे ।

‘यसअघि जे–जे भयो–भैसक्यो, अब रफ्तारमा काम अघि बढ्छ । पुल निर्माणमा कसैबाट पनि लापरवाही भएको छैन’ आयोजनाका इञ्जिनियर श्रेष्ठले भने ।

के हो ‘आर्क नेटवर्क ब्रिज’

आयोजनाका इञ्जिनियर श्रेष्ठकाअनुसार बागमती र धोबीखोलामा नेपालकै पहिलो ‘आर्क नेटवर्क ब्रिज’ बन्न लागेको हो । आर्क नेटवर्क ब्रिज नयाँ तथा अत्याधुनिक प्रविधिमा आधारित पुल हो ।

‘आर्क नेटवर्क ब्रिज’को माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान गरिएको छ । बीचमा गार्डर (दलिन) राखिने पुलमा प्रयोग भएको नेटवर्क तारले भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउने काम गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस