प्रविधिको दुरूपयोगबाट बालबालिकामाथि बढ्दो अपराध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ १, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाडौँ । नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै आ-आफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत जोडिएर अपराधका घटना हुने गरेको बताए । उनका अनुसार हालैमात्र संगम महर्जन नामको नक्कली फेसबुक अकाउन्टबाट एक बालिकालाई साथी बनाइ जबर्जस्ती करणी भएको घटना बाहिर आएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि महानगरीय प्रहरीवृत्त महाराजगजबाट कानुनी कारबाही थालिएको जनाइएको छ ।

प्रहरीका अनुसार सुरुमा ती व्यक्तिले बालिकालाई बारम्बार भिडियो कल गरी संवेदनशील अंग देखाउन लगाइ भिडियो कल रेकर्ड गर्नुका साथै स्कूलमा साथी तथा घर परिवारसमेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धम्की दिएका थिए ।

त्यसपछि पुस २७ गते राति काठमाडौंको बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बोलाइ जबर्जस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा उनले नै यसरी नक्कली फेसबुक अकाउन्ट बनाएको खुलेपछि पक्राउ गरिएको परिसरले जनाएको छ । प्रहरीले यसरी सामाजिक सञ्जालमा नक्कली फेसबुक अकाउन्ट खोली अपराधजन्य कार्य बढ्दो रहेकाले प्रहरीले सचेत हुन अपिल गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस