सहायता सामग्री लिएर नेपाली टोली काबुल प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २, काठमाडौं । अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली आज (आइतबार) काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए । संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए ।

मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ताकपडा, भाँडाकुँडा समावेश रहेको बताए । खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको जानकारी मन्त्री खड्काले दिए ।

विद्रोही संगठन तालिबानले सत्ता कब्जा गरेर शासन सञ्चालन गरिपछि अफगानिस्तानमा ठूलो मानवीय संकट देखिएको छ । गत अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा आएयता विभिन्न मुलुकले मानवीय सहायता सामग्री पठाइरहेका छन् । एक महिनाअघि भारतले पनि अफगानिस्तानमा राहत सामग्री पठाएको थियो । परराष्ट्र मन्त्री खड्काका अनुसार अफगानिस्तानका २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन् । तीमध्ये ३० लाख बालबालिका कुपोषणबाट ग्रस्त छन् ।

‘अफगानी जनताका लागि अन्तर्राष्ट्रिय सहयोग यतिबेला ठप्प भएको अवस्थामा नेपालले मानवीय सहयोग पुर्‍याउनुपर्छ भनेर विशेष जहाजबाट आज सामग्री पठाउन लागेका हौं’, मन्त्री खड्काले भने, ‘सरकारलाई कुनै व्ययभार नपारी निजी क्षेत्रकै सहयोगबाट हामीले इतिहासमै पहिलोपटक जहाजै चार्टड गरी सहयोग गर्न लागेका हौँ ।’

प्राकृतिक प्रकोपका बेला नेपालले विभिन्न देशबाट सहयोग लिएको उल्लेख गर्दै उनले परेका बेला नेपालले पनि सहयोग गर्न सक्ने सन्देश दिन पनि सहयोग पठाइएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस