माओवादी केन्द्र बैठक: प्रचण्डलाई जनपरिचालनका कामहरूको जिम्मा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ ८, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्रको जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले हाल पार्टीभित्र कुनै पनि कमिटी नरहेकाले जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष दाहाललाइ दिने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण पार्टीको केन्द्रीय समिति बैठक केही दिनपछि मात्रै बोलाउने र तत्कालका लागि जनपरिचालनका कामका लागि निर्देशन दिने जिम्मा दाहाललाई दिने निर्णय भएको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए । बैठकले एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न गठबन्धनले बनाएको कार्यदलको सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको उनले जानकारी दिए ।

त्यस्तै, सकेसम्म तीनै तहको चुनाव कम खर्चमा एकैपटक गर्ने विषयमा पनि छलफल र परामर्श भएको नेता महराले बताए । निर्वाचन आयोग, बुद्धिजीविहरू, पत्रकारहरू, त्यसपछि कानुनविदसँग सल्लाह लिएर मात्रै चूनावका बारेमा आवश्यक निर्णयमा पुगिने उनले बताए ।

सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका विषयमा सहमति हुन सकेको छैन । यसअघि शुक्रबार बसेको सत्ता गठबन्धन अन्तर्गतको संयन्त्रले तीनै तहको निर्वाचन एकैपटक गर्ने बिषयमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस