वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा सिमित

माघ ९, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट गत वर्षको तुलनामा यस वर्ष २.८२ प्रतिशत बिन्दुले विद्युत् चुहावट घटाइएको प्राधिकरणले जनाएको छ । गत वर्ष मंसीरसम्म वितरणतर्फको विद्युत् चुहावट ११.९२ प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालू आर्थिक वर्षमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी प्राधिकरणको टोली परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कार्यकारी निर्देशक घिसिङले यस अवधिमा नयाँ सबस्टेशन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेशनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककहाँ सञ्चित रहेको युनिट बिलिङ भएको लगायत कारणबाट चुहावट घटेको जानकारी दिए । “हुकिङ लगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेशनको सुदृढीकरण तथा नयाँ सबस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्ने लगायत काम अगाडि बढाइएकाले चुहावट घटेको हो,” उनले भने ।

सबस्टेशनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको प्राधिकरणको दाबी छ । प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसूल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ ।

सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेशमा                                                                                                                                                                                                                     प्राधिकरणका सात वटा प्रादेशिक कार्यालय र दुई वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १२.९९ प्रतिशत छ। अघिल्लो वर्ष १७.३६ प्रतिशत थियो ।

सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट १०.१७ प्रतिशत थियो। बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३९.८० प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो ।

महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.२७ प्रतिशत रहेकोमा यस वर्ष ३७.६१ प्रतिशत रहेको छ । औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट ०.४८ प्रतिशत छ। अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो ।

संम्बन्धित समचार

Leave a Reply