विवेकशील साझाले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ ११, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ११, हेटौंडा । राष्ट्रिय सभा अन्तर्गतको बागमती प्रदेशको निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । मंगलबार काठमाडौंमा बसेको विवेकशील साझा पार्टीको संसदीय दलको बैठकले भोलि बुधबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दिएकाहरूमध्ये आफूहरूलाई कुनै पनि उम्मेदवार ठिक नलागेकोले मतदानमा सहभागी नहुने निर्णय गरेको संसदीय दलको नेता रमेश पौड्यालले जानकारी दिए । पौड्यालले सर्वोच्च अदालतले २०७१ सालमै ‘नो भोट’को व्यवस्था गर्न आदेश दिइसकेको भन्दै त्यसको व्यवस्था गर्न निर्वाचन आयोगसमक्ष मागसमेत गरे । विवेकशील साझाको बागमती प्रदेशसभामा तीन जना सदस्य छन् ।

राष्ट्रिय सभा सदस्यअन्तर्गत बागमती प्रदेशमा रिक्त हुन लागेको दुई सिटको लागि भोलि मतदान हुदैँछ । दुई सिटको राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुन लागेको छ । जसमा सत्तारुढ गठबन्धन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीबाट दुई/दुई जना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् ।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । त्यस्तैगरी एमालेबाट महिलामा निरुकुमारी कुँवर र अन्यमा गोपाल शाक्य तथा नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा होमिएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा बागमतीमा तीन सय ४६ मतदाता रहेका छन् । मतदातामा प्रदेशका एक सय १९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ रहेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।

जसअनुसार निर्वाचनमा एक सय ९ जना प्रदेश सभा सदस्यको पाँच हजार दुई सय ३२ मतभार रहेको छ भने स्थानीय तहका दुईसय ३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । जसअनुसार बागमतीमा तीन सय ४६ जना मतदाताको नौ हजार ४ सय ९८ मतभार गणना हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस