राष्ट्रियसभा निर्वाचनः मतदान सुरु, नतिजा आजै सार्वजनिक गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ १२, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि निर्वाचन प्रकृया सुरु भएको छ । सातै प्रदेशका मतदान केन्द्रहरुमा अहिले ९ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

सबै प्रदेशका आठ मतदानस्थल र १४ मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदान सकिएपछि आजै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।

राष्ट्रियसभा स्थायी सदन भएकाले हरेक दुई वर्षमा एक तिहाइ सदस्य विदा भएर नयाँ आउने गर्दछन् । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनु ३५ दिन अघि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही बमोजिम आगामी फागुन २० गते रिक्त हुने पदमा आज निर्वाचन हुन लागेको हो ।

रिक्त हुने २० पदमध्ये १९ जना आज निर्वाचनबाट चुनिएर आउनेछन् । एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । ती बिसै जनाको कार्यकाल आगामी फागुन २१ गतेबाट ६ वर्षको हुनेछ ।

आज हुने चुनावमा १९ पदका लागि ४३ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । सत्तारुढ गठबन्धनले साझा उम्मेदवार उठाएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमाले एक्लै प्रतिष्पर्धामा छ । सबै प्रदेशमा बलियो रहेकाले गठबन्धनको जित सुनिश्चित जस्तै छ । प्रदेश एकमा भने झिनो मतान्तर हुँदा कडा प्रतिष्पर्धा हुने भए पनि गठबन्धन नै अगाडि छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र प्रमुख उपप्रमुखले मतदान गर्न पाउनेछन् । आयोगका अनुसार ५ सय ३२ प्रदेशसभा सदस्य र १ हजार ४ सय ९३ जना स्थानीय तहका प्रमुख/उपप्रमुख गरी कूल २ हजार २५ मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ गणना हुनेछ ।

राष्ट्रियसभामा सात प्रदेशबाट समावेशी क्लस्टरसहित ८ जनाका दरले ५६ र राष्ट्रपतिबाट मानेनित ३ जना गरी ५९ जना सदस्य रहने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस