माघ २१, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार राति अमेरिकी विशेष फौजले उत्तर पश्चिमी सिरियामा गरेको सैनिक कारवाहीमा इस्लामिक स्टेट (आईएस) समूहका नेता मारिएको जानकारी दिएका छन् । बाइडेनले अवु इव्राहिम अल–हासिमी अल–कुरेसीको मृत्युसँगै विश्वबाटै एक प्रमुख आतंकारीको खतरा समाप्त भएको अभिव्यक्ति दिएका छन् ।
बाइडेनले अन्तिम कायरतापूर्ण काम गर्नेक्रममा कुरेसीले एउटा शक्तिशाली बम विस्फोट गराई आफू र आफ्ना परिवारका सदस्यहरुलाई समाप्त पारेको जानकारी पनि दिएका छन् । सिरियाली सरकारी सूत्रले घटनास्थलबाट १३ जनाको शव फेलापरेको जनाएका छन् ।
अमेरिकी विशेष फौजले टर्कीको सीमा नजिकको उत्तरी इडलिव प्रान्तको विपक्षीको कब्जामा रहको एतमेह सहरस्थित दुई तले आवासीय भवनमा लक्षित कारवाही गरेको थियो । सो क्षेत्र आईएसका कट्टर विरोधी जिहादी समूहहरु र सिरियाली सरकारविरुद्ध युद्धरत टर्की समर्थित अन्य लडाकु समूहहरुको बाहुल्य रहेको बताइएको छ ।
एक महिनाभन्दा लामो समय अघि बाइडेनलाई अमेरिकी सैनिक कमान्डरहरुले इराकी लडाकु कुरेसी उर्फ अब्दुल्लाह कार्दास उर्फ हाजी अब्दुल्लाहलाई जिउँदै पक्रने वा मार्ने जानकारी दिएका थिए ।