हिमपातले विभिन्न राजमार्ग अवरुद्ध, जनजीवन कष्टकर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २१, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले अहिले देशभर हिमपात र बर्षा भैरहेको छ । अहिले काठमाडौँ उपत्यकाका डाँडा हिउँले ढाकेर सेत्ताम्मे भएको छ । हिमपातकै कारण विभिन्न राजमार्ग अवरुद्ध भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ ।

उत्तरी क्षेत्र मकवानपुरको दामन र सिम्भञ्ज्याङ क्षेत्रमा शुक्रबार बिहानै देखि बाक्लो मात्रामा हिउँ परेको छ । वर्षासँगैको हिमपातले त्रिभुवन राजपथ हुँदै हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपरान्हसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताए ।

यस्तै, बिहीबारदेखि लगातार वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको कालिकोट खण्ड अन्तर्गत खडाचक्र नगरपालिमा–२ हुम्लामा गएराति माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आउँदा राजमार्ग अवरुद्ध बनेको हो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र सिंह खड्काका अनुसार पहिरो हटाएर राजमार्ग खुलाउनका लागि उक्त स्थानमा प्रहरी टोली खटाइएको छ ।

यस्तै, मनाङमा तीन फिट बाक्लो हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ ।

लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै धारामा पानी जमेको छ । हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हे.क्वा मनाङका प्रहरी निरीक्षक पूर्ण तामाङले बताए ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भएको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । सुदूरपश्चिमका तीन राजमार्गमा हिउँ जमेको छ । जसका कारण यातायात सेवा पूर्ण रुपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । हिमपातले दशरथचन्द राजमार्ग, सतबाँझ, महाकाली राजमार्ग र जयपृथ्वी राजमार्गमा सवारी साधन बन्द छ ।

शुक्रबार बिहान हिउँ पर्न रोकिए पनि मौसम भने खासै सुधार भएको छैन । हिमपातले जनजीवन प्रभावित भएको छ । चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ ।

वर्षासँगै हिमपात भएपछि किसानहरू भने खुशी भएका छन् । हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस