गृहमन्त्रीद्वारा हिमपातबाट प्रभावितलाई राहत दिन निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २२, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २२,काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले तराईमा हावाहुरीका कारण ज्यान गुमाएका तीन जनाको परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवम् राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँडले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिए ।

शुक्रवार दिउँसो धनुषाको सबैला नगरपालिका–१२ मा रुखको हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरबिन्दको ज्यान गएको थियो ।

गृहमन्त्री खाँडले आज बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि र अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिए ।

त्यस्तै शुक्रवारै रौतहटको बुधिमाई नगरपालिका–१ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममङ्गल रायकी श्रीमती ४५ वर्षीया फुलमतियादेवीको ज्यान गएको थियो । गृहमन्त्री खाँडले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिए ।

गृहमन्त्री खाँडले महाशाखा प्रमुख कोइरालालाई हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शीतलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिए ।

त्यस्तै मन्त्री खाँडले प्रमुख जिल्ला अधिकारीहरु दीर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी प्रसाईँ (जुम्ला), गणेश आचार्य (हुम्ला), शङ्करहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुङ्गा) र फणिन्द्र दाहाल (खोटाङ)लाई हिमपातको असरबारे जानकारी दिँदै प्रभावितको व्यवस्थापनमा जुट्न निर्देशन दिए । त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि जिल्लाको अवस्थाबारे जानकारी लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस