आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २३, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाडौँ । । आज माघ शुक्ल पञ्चमी, आज देशभर श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइदै छ ।

सूर्य उत्तरतिर लाग्ने दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।

गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस