अपहरणको अफवाह फैलाउनेसहित दाङबाट ८ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ २३, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २३, दाङ । दाङमा प्रहरीले विभिन्न घरेलु हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर तुलसीपुर-३ भ्युडरस्थित खालीगोठबाट ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ निवासी २५ वर्षीय सन्तोष बस्याल, तुलसीपुर-३ का १६ वर्षीय मनोज बिक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अलिज मिया, तुलसीपुर-६ का २१ वर्षीय केतु ओली र तुलसीपुर-९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् ।

उनका अनुसार मादक पदार्थ सेवन गरी पेस्तोल आकारको आगो बाल्ने लाइटर एक थान, खुँडा एक थान, हँसिया ३ थान र बन्चरो १ थान साथमा राखी स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले तुलसीपुरबाट अपहरणको अफवाह फैलाउने एकजना पक्राउ गरेको छ । शनिबार राति करिब १० बजेको समयमा तुलसीपुर-५ एकान्त होटेलमा खाना खाई मापसे गरी आफूलाई चारजना व्यक्तिले अपहरण गरी जङ्गलमा लगेको बताउने एकजना व्यक्तिलाई पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-४ निवासी ४० वर्षीय खिमबहादुर वली रहेका छन् । उनले आफूलाई अपहरण गरेको भन्दै प्रहरीलाई फोन गरेका थिए । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले आइतबार बिहान ४ बजे तुलसीपुर-३ दमारगाउँबाट पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस