उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौँ डलर चोरी गरेको दाबी

माघ २४, एजेन्सी । उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौँ डलर चोरी गरेको संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको छ । राष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्तर कोरियाले साइबर आक्रमण मार्फत् क्रिप्टोकरेन्सी चोरी गरेर क्षेप्यास्त्र कार्यक्रम विस्तार गरिरहेको छ ।

अनुन्धानकर्ताहरुले उत्तर कोरियाले सन् २०२० र २०२१ को बीचमा साइबर आक्रमणबाट ५० मिलियन डलरभन्दा बढी सम्पत्ति चोरी गरेको पाएका छन् । यसरी चोरिएको पैसा प्योङयाङले परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि महत्वपूर्ण राजस्व स्रोतका रुपमा प्रयोग गरेको छ ।

साइबर आक्रमणमा उत्तरी अमेरिका, युरोप तथा एसियामा कम्तीमा तीन क्रिप्टोकरेन्सी एक्सचेन्जलाई टारगेट गरिएको छ । राष्ट्र संघको प्रतिवेदनमा गत महिनाको सेक्युरिटी फ्रम चेनालिसिसमा प्रकाशित एक अध्ययनलाई पनि उल्लेख गरिएको छ, जसमा उत्तर कोरियाली साइबर आक्रमणमा गत वर्ष ४ सय मिलियन डलर बराबरको डिजिटल सम्पत्ति चोरी गरेको उल्लेख छ ।

संयुक्त राष्ट्र संघले सन् २०१९ मा उत्तर कोरियाले साइबर आक्रमणमार्फत् हतियारका लागि दुई अर्ब डलर संकलन गरेको उल्लेख गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि परमाणु परीक्षण र ब्यालेस्टिक मिसाइल परीक्षणमा प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले गम्भीर प्रतिबन्धका बावजुद परमाणु परीक्षण र ब्यालेस्टिक हतियार उत्पादनलाई तीव्र पार्न सफल भएको छ ।

संम्बन्धित समचार

Leave a Reply