सर्वोच्चको सबै सेवा आइतबारदेखि हुने, बार भने आन्दोलनमै रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौं । सर्वोच्च अदालतले आउँदो फागुन १ गतेदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको हिजो बिहीवार बसेको पूर्ण बैठक (फुल कोर्ट) ले आउँदो फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि माघ ५ गतेदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । यस अवधिमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ भएको थियो ।

यता, नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आइतबारदेखि सर्वोच्च अदालतमा भौतिक रूपमा नै आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ । बारले यसअघि कोभिडको संक्रमण दर बढेका कारण भर्चुअल माध्यमबाट विरोधका कार्यक्रम गर्दै आइरहेको थियो ।

बारका महासचिव लिलामणि पौडेलले फागुन १ गते आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा नै निरन्तर जारी रहने बताए । आन्दोलनमा उपत्यकामा रहेका कानून व्यवसायीहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

न्यायपालिकाको सुद्धिकरण र सुदृढीकरणका लागि १०५ दिनदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाको राजीनामा माग गरि बारले निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस