२४ दलले गठन गरे स्थानीय निर्वाचन चुनाव चिन्ह संघर्ष समिति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २८, काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २४ दलहरूले सङ्घर्ष समिति गठन गरेका छन् ।

विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको ठहर गरेको छ ।

बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको विवेकशील पार्टीका प्रवक्त शरदराज पाठकले जानकारी दिए ।

यस्तै, बैठकमा अनुपस्थित भएका राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दलहरूलाई पनि ‘चुनाव चिन्ह सङ्घर्ष समितिमा’ सहभागी हुन आह्वान गरेको छ ।

बैठकमा आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस (वी. पी.), नेपाली जनता दल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय सङ्घीय परिषद्, सामाजिक लोकतान्त्रिक पार्टी, सामाजिक लोकतान्त्रिक पार्टीको सहभागिता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस