विकास बैंक र वित्त कम्पनीहरुले बढाए निक्षेपको ब्याजदर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौं । वाणिज्य बैंकहरुले आगामी फागुनदेखि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र वित्त कम्पनीहरुले पनि निक्षेपको ब्याजदर बढाउने भएका छन् । विकास बैंकहरुले फागुन १ गतेदेखिनै लागू हुने गरी व्यक्तिगत निक्षेपको ब्याजदर ११.६५ प्रतिशत कायम गर्ने सहमति गरिएको डेभलपमेन्ट बैंकर्स संघले जनाएको छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुले अधिकतम ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकहरुले ११.६५ प्रतिशत ब्याजदर कायम गर्ने सहमति भएको बुझिएको छ । सहमति अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दतीमा १०.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकहरुले १०.६५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछन् । रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत ब्याजदर बढी निर्धारण हुनेछ ।

त्यसैगरी वित्त कम्पनीहरुले पनि ब्याजदर बढाउने भएका छन् । वित्त कम्पनीहरुले पनि ११.७१ प्रतिशत ब्याजदर कायम गर्ने भएका हुन् । नेपाल वित्तीय संस्था संघका अनुसार आगामी महिनाबाट वित्त कम्पनीहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा १०.७१ प्रतिशतसम्म ब्याजदर कायम गर्ने छन् । रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत बढी ब्याजदर कायम हुनेछ ।

यसअघि वाणिज्य बैंकहरुले फागुन १ गते आइतबारबाट व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ ब्याजदर लागू गर्ने नेपाल बैंकर्स संघ(एबीए) आजको बैठकले निर्णय गरेको छ । राष्ट्र बैंकले दबाब दिएपछि फागुन १ गतेदेखि ब्याजदर १ प्रतिशत बढाउने निर्णयमा पुगिएको एनबीएले जनाएको छ । साधारण बचत खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा ५ प्रतिशतभन्दा कम र कल निक्षेपमा ३.०१५ प्रतिशत निर्धारण गर्ने सहमति बनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस