नेकपा सुदूरपश्चिमको चेतावनी : ‘सोडारीसँगै अरुहरुको पनि निगरानी’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ३०, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तक ३०, काठमाडौं । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेशका मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिमाथि निगरानी गर्न सुरु गरेको छ ।

आफ्नो पार्टीबाट निर्वाचित मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिका काम कर्तव्यबारे निगरानी गर्न थालिएको नेकपा प्रदेश कमिटिले जनाएको छ ।

नेकपाका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले अव आफ्नो पार्टीबाट जितेका सबै प्रतिनिधिको कामकारवाहीको निगरानी गर्ने बताए ।

नेकपाबाट जितेका मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिले प्रभावकारी ढंगले काम गर्न नसकेको, पार्टीसँग आवश्यक समन्वय नगरेको, पार्टीको निर्देशनलाई व्यवस्था गरेको गुनासो बढेपछि प्रदेश समितिले त्यस्तो निर्णय गरेको उनले बताए ।

केहीदिन अघि बसेको प्रदेश कमिटिको बैठकले समेत त्यस्तो निर्णय गरेको नेकपाका प्रदेश सह-इन्चार्ज लक्ष्मीराज जोशीले जानकारी दिए ।

त्यसै अनुरुप सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्रीबाट बर्खास्त गर्नुका साथै पार्टीबाट समेत निष्कासन गरिएको नेकपाले जनाएको छ ।

हाल जिल्ला र स्थानीय तहमा एकीकरण प्रक्रिया नटुङगिएका कारण प्रदेश कमिटिले नै मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिको काम कर्तव्यको मुल्याङन गर्ने थापाले बताए ।

त्यसका लागि जिल्ला तह, स्थानीय तहका नेतालाई पनि जानकारी गराईएको र मुल्याङन गरिराख्न निर्देशन दिईएको छ ।

पदीय मर्यादा बिपरित कार्य गरेमा, प्रभावकारी ढंगले काम गर्न नसकेमा, पार्टीसँग आवश्यक समन्वय नगरेमा, पार्टीको निर्देशनलाई नमानेको खण्डमा मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई कडा कारवाही गरिने चेतावनी नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस