सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन २, काडमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ । बैठक संसद् सचिवालयमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको न्यौपानेको भनाइ छ । ‘समसायिक विषयमा छलफल गर्न सभामुखज्यूले बैठक बोलाउनुभएको हो,’ न्यौपानेले भने ।

आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता गरेका छन् ।

अर्कोतिर, गत भदौदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । एमसीसीसँगको सम्झौतालाई सदनबाट अनुमोदन गर्ने विषयमा पनि दलहरु विभाजित छन् । यस्तो बेलामा सभामुखले बोलाएको सर्वदलीय बैठकलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले उपस्थिति भएको थिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस