‘संविधानलाई संशोधन नगरी सबै जनताको स्वामित्व रहन सक्दैन’ : नेता यादव (अन्तवार्ता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ जेष्ठ २०, आईतबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

प्रदेश नम्बर २ मा संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) को सरकार छ । यी दुवै पार्टी केन्द्रमा पनि एउटै मुद्दा बोकेर अघि बढेका थिए । पछिल्लो समयमा एउटा दल संघीय सरकारमा गएको छ भने अर्कोले सरकारलाई विश्वासको मत मात्रै दिइरहेको छ, मन्त्रालय सम्हाल्न पुगेको छैन । यसै सन्दर्भमा राजपा अध्यक्ष मण्डलका एकजना सदस्य राजकिशोर यादवसँग हामीले कुराकानी गरेका छौँ ।

प्रदेशमा सत्ता सहयात्री दल संघीय समाजवादी पार्टी सरकारमा गयो, यसलाई राजपाले कसरी लिएको छ ?

संघीय समाजवादी र राजपा बेग्लाबेग्लै पार्टी हो । हो, हामीले विगतमा सँगै मिलेर आन्दोलन गरेका हौं । सँगै मिलेर चुनाव लडेका हौं । यो संविधान अधुरो र अपुरो छ, यो संविधानमा व्यापक संशोधनको आवश्यकता छ, त्यसैले यो संविधानलाई संशोधन नगरी सबै जनताको स्वामित्व रहन सक्दैन । यो राजपा र संघीय समाजवादी पार्टीको साझा धारणा र निष्कर्ष थियो, त्यही लिएर हामी जनतामा गयौं ।

राजपाले हिजो जनताका माँझमा जे कबुलनामा गरेको थियो, त्यसमा हामी अडिग छौं । संघीय समाजवादी पार्टी सरकारमा गयो । सरकारमा किन, कसरी गयो, भोलि जनतालाई जवाफ संघीय समाजवादी पार्टीले दिन्छ । यो विषयमा राजपाले प्रतिक्रिया दिइराख्नुपर्ने म आवश्यकता देख्दिनँ ।

तपाईंहरु सरकारमा नजाने, संघीय समाजवादी पार्टी सरकारमा जानुले अर्थ राख्दैन ?

संविधान संशोधन, हिजो जनतामा गरिएको प्रतिबद्धता र हिजो आन्दोलनका बेला जनतासँग गरिएको कबुलनाममा अर्थ राख्छ । तर राष्ट्रिय जनता पार्टीका लागि कुनै अर्थ राख्दैन । जनतासँग गरिएको प्रतिबद्धता पालना भएन भने त्यसको हिसाबकिताब जनताले नै माग्नेछन् ।

अहिलेको राजनीति जसरी ध्रुविकरण हुँदैछ, हामी पनि एक ठाउँमा बसेर अघि बढेको भए हाम्रो मुद्दालाई अझ बल मिल्थ्यो भन्ने हाम्रो बुझाइ हो । तर हाम्रो इच्छामा मात्र भर परेर हुँदैन । कम्युनिष्टहरु मिले, हामी पनि मिलेर लोकतन्त्रलाई बलियो पार्नुपर्छ भन्ने थियो, हाम्रो चाहनाले मात्र नहुनेभयो । संघीय समाजवादी सरकारमा गयो, हाम्रो शुभकामना छ ।

सरकारमा जाँदैमा पार्टीको एजेन्डा छोड्यो भन्न मिल्छ ?

घामझै छर्लङ छ । चुनावपछिको अभिव्यक्तिलाई हेर्ने हो भने संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्तिले स्पष्ट पारेको छ ।

सरकारमा गएर संविधान संशोधन गर्न सकिँदैन ?

यो प्रश्न सरकारमा जाने संघीय समाजवादी पार्टीका नेतालाई सोध्दा सान्दर्भिक होला । संविधान संशोधन गर्नकै लागि उहाँहरु सरकारमा जानुभएको हो जस्तो मलाई लाग्छ । संघीय समाजवादी सरकारमा जाँदा सम्झौता गरिराख्नुपर्दैन थियो ।

थप कुराकानी अडियोमा सुन्न सक्नुहुन्छ

ताजा अपडेट

खोजी गर्नुहोस