फागुन ८, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातीबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रू. ३ का दरले मूल्य बढाएको हो ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर रू. १४५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. १२८ पुगेको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।
१८ माघमा मात्रै मुल्य बृद्धि गरेको सरकारले तीन हप्ता नपुग्दै इन्धनको भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले स्थानीय बजारमा पनि विक्री मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।
मूल्यवृद्धिका बावजूद अझै पेट्रोलमा प्रतिलिटर १६ रूपैयाँ ५९ पैसा, डिजलेमा प्रतिलिटर १२ रूपैया ९८ पैसा घाटा रहेको निगमको दाबी छ । मूल्यवृद्धिका बावजूद निगमको १५ दिनको घाटा रू. २ अर्ब १५ करोड हुने निगमले जनाएको छ ।