फागुन ९, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने पार्टी सचिव एवं प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
एमसीसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो ।
आइतबार बिहान बसेको गठबन्धन दलको बैठकले संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेर टेबल भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका थिए । उनले संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए भने भातृ संगठन पनि एमसीसी विरोधमा उत्रिएका थिए ।
यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । त्यस निर्णयका बारेमा पनि फरक–फरक विज्ञप्ति आएका थिए ।