सात महिनामा १० खर्ब १५ अर्बको व्यापार घाटा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन ११, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ११, काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आ.व. ७८.७९ को माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ ।

अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार घाटा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ थियो ।

तथ्याङ्कअनुसार नेपालले माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात गरेको छ । अघिल्लो माघको तुलनामा यो ४२.७८ प्रतिशतले बढी हो । सात महिनासम्म नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड रुपियाँको निर्यात गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा ८८.३० प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै ७२ अर्ब ९६ करोड रुपियाँको डिजल आयात भएको छ । त्यसपछि ३९ अर्ब ६६ करोड रुपियाँको कच्चा भटमास तेल, ३४ अर्ब ६९ करोड रुपियाँको एलपी ग्यास, ३३ अर्ब ५६ करोड रुपियाँको पेट्रोल र २९ अर्ब ८६ करोड रुपियाँको अर्ध प्रशोधित फलाम समाग्रीहरूको आयात भएको छ ।

निर्याततर्फ सबैभन्दा धेरै ३६ अर्ब ८५ करोड रुपियाँको भटमास तेलको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । ३४ अर्ब १४ करोड रुपियाँको प्रशोधित पाम तेल, पाँच अर्ब सात करोड रुपियाँको उनी गलैँचा, तीन अर्ब ४० करोड रुपियाँको उनी कपडा र दुई अर्ब ७५ करोड रुपियाँको फेल्ट निर्यात भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस