ओलीले भने-‘गठबन्धन टुट्यो भने बिचराहरू धुलोपिठो हुन्छन्’ :

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १३, शुक्रबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन १३,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमति, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरूलाई एकमुष्ट रूपमा उठ्नै नसक्ने गरी पछार्ने बताएका छन् ।

आज शुक्रवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले सत्तारुढ गठबन्धन आउँदो चुनावमा धुलोपिठो हुने भयले पनि नटुट्ने तर्क गरे । एमालेले गठबन्धन दलहरूसँग ;वान बाई वान’ लड्नुभन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्ट रूपमा चुनावमा लड्न चुनौती दिए । उनले आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दाबीसमेत गरे । अध्यक्ष ओलीले भने, ‘गठबन्धन टुट्यो भने बिचराहरू धुलोपिठो हुन्छन् । पाँच वटै एकैचोटि आऊ । वैशाख ३० गतेको चुनाव सार्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइयो । गठबन्धन टुटाएर एक्लै चुनाव लड्ने कसैको हिम्मत छ ? ठिक छ, वैशाख ३० गतेसम्म एक झट्का, एक पटक हामी त्यहाँ सात दिन नउठ्ने गरी पछार्छौँ । यिनीहरूको जस्तो सडकमा ढुङ्गा हानेर होइन, जनताको पवित्र मतबाट ।’

अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताए । एक सय ६५ भोट सरकारसँग छ, एमसीसी पास गर्न कसले रोकेको छ ? उनको सत्तारुढ दलप्रति प्रश्न थियो । ओलीले एमसीसीप्रति सङ्केत गर्दै आफ्नो पार्टीले देश र जनताको हितभन्दा बाहिर गएर कुनै पनि निर्णय नलिने स्पष्ट पारे । उनले पुतलीको कथा उद्धृत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दोहोरो चरित्र देखाइरहेको आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सही हो, कुन गलत हो ?’

कार्यक्रममा विभिन्न दलबाट एमालेमा प्रवेश गर्ने कार्यकतालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस