रुसी बख्तरबन्द गाडीहरूको ठूलो लस्कर युक्रेनको राजधानी किएभतर्फ प्रस्थान

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ फागुन १७, मंगलबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन १७,काठमाडौँ । रुसी बख्तरबन्द गाडीहरूको ठूलो लस्कर युक्रेनको राजधानी किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको छ । मेक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटेलाइट तस्बिरअनुसार रुसी सैनिकहरूको गाडीको लाइन झन्डै ६० किलोमिटर लामो रहेको बीबीसीले जनाएको छ ।

रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएकोे शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको लस्कर सार्वजनिक भएको हो । हिजो सोमवार दिउँसो लिइएको तस्बिरमा सयौँ बख्तरबन्ध गाडी, ट्याङ्क र तोपहरू छन् । युक्रेनको राजधानी किएभमा रुसी आक्रमण केही कम भएको बेला फेरि अत्याधुनिक हतियारसहित ठूलो सङ्ख्यामा सेनाहरू गइरहेका हुन् ।

सार्वजनिक भएको स्याटेलाइट तस्बिरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ । राजधानी किएभमा अहिले हवाई आक्रमणको सङ्केतस्वरूप साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । रुसले युक्रेनमा हवाई र जमिन दुवैतर्फबाट आक्रमण जारी राखेको छ ।

यसैबीच युक्रेनमा आरोपित युद्ध अपराधबारे अनुसन्धान हुने भएको छ । द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने योजना रहेको बताएका बीबीसीले जनाएको छ । युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको कुरा विश्वास गर्ने पर्याप्त आधारहरू रहेका अभियोजनकर्ता करिम खानले बताए । रुसले युक्रेनको दोस्रो ठूलो शहरमा जानाजान सर्वसाधारणलाई निसाना बनाएर हवाई आक्रमण गरिरहेकाले यो युद्ध अपराध रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस