राष्ट्रसंघको महासभामा युक्रेनको पक्षमा नेपालको मत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १९, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १९, काठमाडौं । संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्न आह्वान गर्दै बोलाएको विशेष महासभामा नेपालले पक्षमा मतदान गरेको छ । गएराति भएको ११औँ विशेष महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

युक्रेनको पक्षमा नेपालसहित १ सय ४१ देशले मतदान गरेका हुन् । नेपालका तर्फबाट महासभामा बोल्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा रहेको बताए ।

नेपाल वुद्धभूमि भएकाले पनि शान्ति प्रेमी देश भन्दै राईले शान्ति स्थापनका लागि कुटनीति र संवादको विकल्प नभएको उल्लेख गरे । यो प्रस्तावमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र युक्रेनी क्षेत्रबाट रुसको सैन्य बल तत्काल पूर्णरुपमा बिना शर्ता हटाउन माग गरिएको छ । यो प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, एरिट्रिया र सिरियाले मात्र मतदान गरेका छन् ।

चीन, भारत, पाकिस्तान, दक्षिण अफ्रिका लगायत ३५ देश तटस्थ बसेका छन् । संयुक्त राष्ट्र महासभा प्रमुख अब्दुल्ला शाहिदले प्रस्तावको नतिजाले युक्रेनमाथिको आक्रमणले विश्व समुदाय चिन्तित भएको दर्शाएको बताए । महासचिव एन्टिनियो गुटरेशले महासभाले शान्तिको आवाज बुलन्द गरेको भन्दै युक्रेनमा दुस्मनीको अन्त्य होस्, बन्दुक बन्द होस् र संवादका लागि कुटनीतिक दरबाजा खुला होस् भन्ने सन्देश दिएको बताए ।

१ सय ९३ देश रहने संयुक्त राष्ट्र संघ महासभाले युक्रेनको सम्प्रभुता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई पुष्टि गरेको छ । सन् १९५० पछि संयुक्त राष्ट्र संघमा यस्ता विशेष महासभा १० वटा मात्रै भएका छन् । यस्ता महासभालाई शान्तिका लागि एकताका रुपमा लिने गरिएको छ ।

यो प्रस्ताव बहुमतले पारित भए पनि सुरक्षा परिषदका ५ स्थायी सदस्यको एक मत नभई कारबाहीमा भने बाध्यकारी हुँदैन । सुरक्षा परिषदका स्थायी सदस्य अमेरिका, बेलायत, रुस, फ्रान्स र चीनलाई भिटो प्रयोगको अधिकार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस