सिसीले लिए ईजिप्टको राष्ट्रपतिको दोस्रो कार्यकालको सपथ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ जेष्ठ २०, आईतबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले दोस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिनुभएको यहाँको राज्य सञ्चालित नाइल टेलिभिजन च्यानलले जनाएको छ ।

उनी इजिप्टको राष्ट्रपतिका रूपमा आगामी सन् २०२२ सम्म काम गर्नेछन ।

इजिप्टको संसदमा भब्य समारोहबीच भएको कार्यक्रममा राष्ट्रपति सिसीले सपथ खाँदै भने, “म भगवानलाई साक्षी राखी इजिप्टको गणतान्त्रिक व्यवस्थाको सुरक्षा गर्नेछु । संविधान र कानूनको सम्मान गर्नेछु । नागरिकको हितको सुरक्षा गर्नेछु र राज्यको एकता, स्वतन्त्रताको रक्षा गर्नेछु ।”

सपथपछि संसदलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले धेरै कठीन अवस्थाको सामना गर्दै राज्यलाई भविष्यमा थप स्थायित्वतर्फ डोराइरहेका छौँ ।”

आफ्नो पहिलो कार्यकालमा आर्थिक सुधारका लागि बिताएको बताउँदै आगामी चार वर्ष स्वास्थ्य र शिक्षामा सुधारका लागि खर्चिने सिसीले सम्बोधनमा बताए ।

“इजिप्टजस्तो मुलुकलाई नेतृत्व दिनु वास्तवमा नै कठीन र ठूलो काम हो,” उहाँले राष्ट्रका नाममा दिएको सम्बोधनमा बताए ।

राष्ट्रपतिले भने, “इजिप्टले अन्तर्राष्ट्रिय सम्बन्धलाई साझेदारीका माध्यमबाट अघि बढाउने प्रयास जारी रहनेछ ।”

सिसीले सन् २०१८ मा भएको निर्वाचनमा ९७ प्रतिशतभन्दा बढी मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । उनले पहिलो राष्ट्रपतिको सपथ इजिप्टको सर्वोच्च संवैधानिक अदालतसमक्ष सन् २०१४ मा लिएका थिए ।

इजिप्टको इतिहासमा पूर्व राष्ट्रपति होस्नी मुवारकले पाँचौँ कार्यकालका लागि सन् २००५ मा सपथ खानुभएको थियो । उनलाई जनआन्दोलनको बलमा सन् २०११ मा पदच्युत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस